काठमाडौँः नेपाल र श्रीलंकाबीच क्रस–बोर्डर मोबाइल भुक्तानी सेवा सुरु भएको छ। अन्तरदेशीय डिजिटल भुक्तानीलाई थप सहज, सुरक्षित र छिटो बनाउन श्रीलंकाको लंकापे र नेपालको नेपाल क्लियरिङ हाउसले संयुक्त रूपमा यो सेवा सञ्चालनमा ल्याएका हुन्।
श्रीलंकाको कोलम्बोमा आयोजित विशेष कार्यक्रममा उक्त सेवाको औपचारिक घोषणा गरिएको हो। अब श्रीलंका भ्रमण गर्ने नेपालीहरूले कनेक्ट आईपीएस तथा अन्य मोबाइल बैंकिङ एपमार्फत श्रीलंकामा रहेका ४ लाखभन्दा बढी लंका क्यूआर मर्चेन्टमा क्यूआर स्क्यान गरेर सहज रूपमा भुक्तानी गर्न सक्नेछन्।
नेपाल क्लियरिङ हाउसका अनुसार दक्षिण एसियाली देशहरूबीच डिजिटल भुक्तानीमा क्षेत्रीय अन्तरआबद्धता बढाउने दिशामा यो महत्वपूर्ण कदम हो। यसले दुई देशबीच सुरक्षित, रियल टाइम तथा अन्तरआबद्ध भुक्तानी प्रणालीलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
यो सेवाले विशेषगरी पर्यटक तथा व्यापारिक भ्रमणमा जाने व्यक्तिहरूलाई नगदरहित, सुरक्षित र सहज भुक्तानी सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
हाल प्रारम्भिक चरणमा यो सेवा लक्ष्मी सनराइज बैंकमार्फत सुरु गरिएको छ। बैंकद्वारा जारी गरिएको डलर कार्डलाई कनेक्ट आईपीएस एपसँग लिंक गरी श्रीलंकामा क्यूआर भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।
नेपाल क्लियरिङ हाउसले आगामी दिनमा अन्य मोबाइल बैंकिङ एपहरूमा पनि यो सुविधा विस्तार गरिने जनाएको छ। यसबाट श्रीलंका यात्रा गर्ने नेपालीहरूलाई डिजिटल माध्यमबाट सहज भुक्तानी गर्न थप सुविधा पुग्ने विश्वास गरिएको छ।


