काठमाडौं। झापा जिल्लाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित सीमा ईलाकाबाट सोमबार सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलिले ५७० ग्राम सुन तथा विदेशी मुद्रासहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
भारतबाट सिटी सफारीमा नेपालतर्फ आउँदै गरेका भारत घर बताउने अन्दाजी ३९ वर्षिय परम पाठकलाई उल्लेखित सुन तथा मुद्रा सहित नियन्त्रणमा लिईएको हो।
विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काँकडभिट्टा र मेची भन्सार कार्यालयको संयुक्त टोलीले जाँच गर्दा उनको साथबाट उक्त सुन, अमेरिकी डलर २० हजार, भारतीय ८५ हजार ४१० रुपैयाँ तथा भारतीय आधार कार्ड १ थान, विभिन्न ब्राण्डको मोवाईल सेट २ थान, हार्ड डिस्क १ थान, बैंक चेक एक थान र सिमकार्ड ७ वटा समेत बरामद भएकोे छ।
नियन्त्रणमा लिईएका उनलाई बरामद सुन तथा अन्य सामानसहित आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा झापामा बुझाईएको छ।
उनी कुन प्रयोजनका लागि नेपाल प्रबेश गरेका हुन् भन्ने नखुलेको सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा प्रवत्ता बिष्णुप्रसाद भट्टले जानकारी दिएका छन्।


