कैलालीः मध्याह्नको उखरमाउलो गर्मी। तातो हावा चलिरहेको छ। भजनी नगरपालिका–३ पकरियापुरका मानबहादुर चौधरीको अनुहार पटक्कै तातेको देखिँदैन।
सार्वजनिक सुरक्षित आश्रयस्थलको खुला चौरमा भेटिएका ४० वर्षीय चौधरी दोस्रो कार्यकालको बढघर (भलमन्सा) को नेतृत्व गरिरहेका रहेछन्। उनकाअनुसार बढघर अन्तर्गत ६२६ घरधुरी छ। आश्रयस्थलमा राजनीतिक कार्यक्रम जारी रहँदा उनलाई सुन्न जान मन लागेनछ। किन नगएको ? उनले भने, ‘के पाउनु छ र ? भाषण सुन्न गएर। ताली बजाएर ? विपद् पर्दा भाषण गर्ने जोगाउन आउँदैनन्। आफैले आफ्नाका सुरक्षा गर्नुपर्दछ।’
उनी सोही समयमा नेपाल रेडक्रस सोसाइटी र भजनी नगरपालिकाको संयुक्त सहकार्यमा सञ्चालन भइरहेको विपद्का समयमा नसर्ने रोगसम्बन्धी अत्यावाश्यक हेरचाह ‘प्याकेज’को परीक्षण र कार्यन्वयन तयारीको लागि सञ्चालन भइरहेको कृत्रिम घटना अभ्यासमा जुटिरहेका थिए। विपद्का अवस्थामा तत्काल अस्थायी आवास (सेल्टर) कसरी निर्माण गर्ने र समुदाय सहित नसर्ने रोग लागेका व्यक्तिहरुलाई कसरी सुरक्षित राख्न सकिन्छ भनेर पूर्वाभ्यास गरिरहेका थिए। बाँसका टेका लगाएर नेपाल रेडक्रस चिह्न अङ्कित तारपोलियन मिलाउँदै उनले भने, ‘बाढी र डुबान नआउने समयमा यस्ता अभ्यास गर्दा भोलिका दिनमा सजिलो हुनेरहेछ।’ उनकाअनुसार मुख्य गरेर यहाँका कन्द्रा, मोहना, काँढा, पथरैयासहित कर्णालीले डुबान र कटानको कहर नल्याएको वर्ष हुँदैन।
बडघरका मानबहादुरकी श्रीमती ब्रेफानी चौधरी पनि समुदायमा विपद्को पूर्वसूचना ‘माइकिङ’ गर्न व्यस्त हुँदा भेटिएकी थिइन। ‘विपद्का सूचना र जानकारी कसरी समुदायमा पु¥याउने’ भनेर उनलाई भ्याइ नभ्याइ थियो। सूचना सम्प्रेषणका विधि र तरिका बारेमा उनले नेपाल रेडक्रस सोसाइटीद्वारा प्रदान गरेको तालिममा सिकेकी थिइन्। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम पूर्वानुमान सूचना बढघरसम्म आइपुग्नासाथ उनी ‘माइक’ बाकेर घरबाट निस्किएकी थिइन्।
‘माइकिङ’ सुनेर महिला स्वयंसेविका किरणा जैसी झटपट झोला बोकेर घरबाट निस्केकी थिइन। झोलामा नसर्ने रोग(रक्तचाप, मधुमेह, क्यान्सर, मुटु तथा रक्तनली तथा श्वासप्रश्वास)सहित झाडापखाला, ज्वरोका औषधिसहित केही प्राथमिक उपचार सामग्री पनि रहेका थिए। उनले भनिन्, ‘विपदका अवस्थामा नसर्ने रोगको व्यक्तिको सेवा निरन्तरताका लागि चुनौती छ र यो कृत्रिम घटना अभ्यासले समुदाय तथा नसर्ने रोग लागेका व्यक्तिहरुको विपद् पूर्वतयारी तथा विपद्को पूर्वानुमानपश्चात् गरिने पूर्वकार्यको ज्ञान तथा सीपसमेत वृद्धि गर्नेछ। यसमा समुदायलाई अभ्यस्त बनाउन जरुरी छ।’
यहाँ बडघरले समुदायलाई एकताबद्ध, सङ्गठित, अनुशासित र विकासका काममा परिचालन गर्ने काम गरिरहेको छ। बडघर थारू समुदायको मौलिक प्रथा पनि हो। बडघरले थारूको मौलिक सञ्चार प्रणालीअनुसार सूचना प्रवाह गर्ने गर्छन्। बडघरको जिम्मेवारीमा रहेका व्यक्तिले स्वयं प्रत्येक गाउँको घरधुरीमा पुगेर सूचना दिने काम गर्ने परम्परा रहीआएको छ। सूचना प्रवाह गर्दा गाउँका सबै घरमा पुगेर लिखित वा मौखिक सूचना दिने काम गर्ने गर्छन्। बडघर मानबहादुरले भने, ‘बडघर आफैँ खट्नु बढी विश्वसनीय हुने भएकाले समय भएसम्म म आफैँ खट्ने गर्दछु।’
बाढी र डुबानसहित नसर्ने रोगको उच्च जोखिम
भजनी नगरपालिकाका प्रमुख केबल चौधरीका अनुसार नगरपालिकाका नौवटै वडा बाढी र डुबानका उच्च जोखिममा पर्दछ। विगत तीन वर्षदेखि यहाँ बाढी र डुबानका कारण मानवीय क्षति नभए पनि डुबान, कटानसहित कृषिबाली क्षति हुनेक्रम रोकिएको छैन।
उनले भने, ‘पछिल्ला वर्ष नसर्ने रोगको वृद्धिले नगरवासीहरु बाढीको समयमा अझ प्रभावित बन्न थालेका छन्। यहाँको नसर्ने रोग को ‘ग्राफ’ निरन्तर उकालोमा छ।’ उनकाअनुसार पालिकाभित्र बाढी र डुबानको उच्च जोखिमबाट समुदायलाई जोगाउन एकसयभन्दा बढी उच्च घर बनाउन सहयोग तथा विस्थापित राख्न १८ उच्च घर बनाइएका छन्।
गत माघ र फागुनमा नगरपालिकाले नगर क्षेत्रमा नसर्ने रोगसम्बन्धीे ‘स्क्रिनिङ’ अभियान नै सञ्चालन गरेको थियो। नगरपालिका स्वास्थ्य शाखा प्रमुख कैलाशबहादुर डगौरा थारुका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र भजनी, आधारभूत स्वास्थ्य केन्द्र पल्तुपुर, मन्त्रिफाँटा, धरौना, गोडचौरासहित लालाबोझी स्वास्थ्यचौकी, थापापुर स्वास्थ्यचौकी, सहरी स्वास्थ्य केन्द्र चर्रा र खैलाड स्वास्थ्यचौकीमा ३० वर्षमाथिका एकहजार एकसय ८० को परीक्षण गर्दा रक्तचाप २५५, मधुमेह ९५, मिर्गाैला १६, मोटोपना २४४ जना भेटिएको थियो। उनले भने, ‘समुदायमा नसर्ने रोगको व्यक्तिको खोजपड्ताल गर्नेक्रम जारी छ। पहिचानका लागि यस्ता व्यक्तिलाई ‘कार्ड’ वितरण भइराखेको छ। यसबाट विपद्का समयमा नसर्ने रोग लागेका व्यक्तिहरुको उपचार सेवा निरन्तरताको लगि सहयोग पुग्ने छ।’
भजनी नगरपालिकामा नोभो निर्डिस्क फाउन्डेसनको आर्थिक सहयोग तथा डेनिस रेडक्रस, क्यानडियन रेडक्रस तथा आरहुस विश्वविद्यालयको सहकार्यमा ‘रेजिलिएयन्स नसर्ने रोग उपचार’ परियोजना अप्रिल २०२४ देखि मे २०२६ सम्म सञ्चालनमा रहेको छ।
सोही परियोजनाले भजनीमा विपद्का समयमा नसर्ने रोग लागेका व्यक्तिहरुको उपचार सेवा निरन्तरताको लगि विपद्को समयमा नसर्ने रोगसम्बन्धी अत्यावाश्यक हेरचाह प्याकेजका ‘पेन डि प्याकेज’ मार्फत निरन्तर पैरवी, सहजीकरणका गतिविधिमा सहयोग गरिराखेको नेपाल रेडक्रस सोसाइटी, स्वास्थ्य सेवा विभागका स्वास्थ्य कार्यक्रम संयोजक अनिल महर्जनले जानकारी दिए।
‘रेजिलिएयन्स नसर्ने रोग उपचार’ परियोजनाका संयोजक प्रमोद अधिकारीले भने, ‘विपद्का अवस्थामा नसर्ने रोग लागेका व्यक्तिहरूको उपचार सेवा निरन्तरतालाई सुनिश्चित गर्दै स्वास्थ्य क्षेत्र र विपद् जोखिम व्यवस्थापन प्रणालीबीचको अन्तरलाई कम गर्नु ‘रिजिलियन्स एनसिडी’ परियोजनाको मुख्य उद्देश्य रहेको छ। विपद्मा नसर्ने रोगका बिरामीलाई प्राथमिकता दिन सकेमा आकस्मिक जटिलता र मृत्युको जोखिम कम हुन्छ साथै बिरामीको मानसिक तनावसमेत कम हुन्छ। मधुमेह, उच्च रक्तचाप, मुटुरोगजस्ता रोगबाट गम्भीर अवस्था सिर्जना हुनबाट रोकेर मानिसलाई बचाउन सकिन्छ। पेन–डी प्याकेजलाई समावेश गरी नीतिगत रूपमा काम गरेमा विपद्को समयमा नसर्ने रोग भएका व्यक्तिहरुले थप जटिलता भोग्नु पर्ने थिएन।’
भजनी विपद् र नसर्ने रोगको दोहोरो मारमा रहेको छ। नेपाल रेडक्रस सोसाइटी र स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको संयुक्त सहकार्यमा निर्माण भएको विपद्को समयमा नसर्ने रोगसम्बन्धी अत्यावाश्यक हेरचाह प्याकेजका ‘पेन डी प्याकेज’को अन्तिम मस्यौदा तयार भइसकेको र भजनी नगरपालिका आगामी वर्षदेखि उक्त प्याकेजलाई पालिकाको नीति तथा कार्यक्रममा समावेश गरेर कार्यन्वयन गर्ने तयारीमा रहेको छ। नगरपालिकाका प्रमुख चौधरीले भने, ‘विपद्को समयमा नसर्ने रोग लागेका व्यक्तिहरुको उपचार सेवा निरन्तरताको लागि यो प्याकेजले सहजीकरण गर्ने भएकाले भविष्यमा भजनी नगरपालिकामा नसर्ने रोगबाट प्रभावित रहेका व्यक्तिहरु विपद्का समयमा उपचारबाट वञ्चित हुनुपर्दैन।’
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, सामुदायिक स्वास्थ्य विशेषज्ञ डा सविन पराजुली विपद्को समयमा नसर्ने रोग लागेका व्यक्तिहरुको उपचार सेवा निरन्तरताको लागि ‘पेन डी प्याकेज’ सहयोग पु¥याउने जानकारी दिँदै भजनी र लालझाडीको सिकाई अन्य पालिकामा कार्यान्वयन गर्न आवश्यक रहेको बताए।


