काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत युनिभर्सल पावर कम्पनी लिमिटेडले जलविद्युतमा लगानी बढाउँदै गएको छ।
११ मेगावाटको खारेखोला र पाँच मेगावाटको रुकुमगाड जलविद्युत आयोजना सञ्चालन गरिरहको युनिभर्सल पावरले ६५ मेगावाट क्षमताका दुई जलविद्युत आयोजना बनाउने भएको छ।
कम्पनीले सोलुखुम्बुमा रहेको २४.२२ मेगावाटको माथिल्लो इन्खुखोला र ४०.७ मेगावाटको माथिल्लो छुजुङ खोला जलविद्युत आयोजना बनाउन लागेको हो। सञ्चालनमा रहेका र निर्माणको तयारीमा आयोजनासमेत गरी युनिभर्सलसँग जडित क्षमता ८० मेगावाट पुग्नेछ।
कम्पनीले माथिल्लो छुजुङ खोला आयोजना बनाउन र आयोजना बनाउन बैंकबाट लिएको ऋण तिर्न सत्प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ।
साधारणसभाबाट पारित गरी विद्युत नियमन आयोगबाट स्किृतिको प्रक्रियामा रहेको कम्पीले जनाएको छ। हकप्रद सेयर निष्कासन स्वीकृत भएमा युनिभर्सलको चुक्ता पुँजी बढेर पाँच अर्ब रुपैयाँ पुग्नेछ।
माथिल्लो इन्खुखोला आयोजना बनाउन छ अर्ब २३ करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।माथिल्लो इन्खुखोलाको लागत प्रतिमेगावाट २५ करोड ७५ लाख छ। माथिल्लो इन्खुखोला महंगो देखिएको छ।
माथिल्लो इन्खुखोलाको आइआरआर १२.३९ र स्वपुँजीमा प्रतिफल १८.७४ प्रतिशत रहेको युनिभर्सल पावरले जनाएको छ। माथिल्लो इन्खुखोलाबाट वार्षिक १४ करोड ६६ लाख युननिट बिजुली उत्पादन हुने कम्पनीले गरेको अध्ययनले देखाएको छ। आयोजना नदी प्रवाही (रन अफ द रिभर) हुन्।
आयोजना सोलुखुम्बको सोताङ गाउँपालिका २ र माप्या दूधकोसी गाउँपालिका वडा नम्बर ७ प्रभावित हुने युनिभर्सलले जनाएको छ। आयोजनाको विद्युतगृह भूमिगत हुने भएको छ। दुई टर्वाइनबाट विद्युत उत्पादन हुनेछ।
आयोजनाबाट विद्युत उत्पादन इजाजत (लाइसेन्स) का लागि विद्युत विकास विभागमा दरखास्त दिएको छ। विभागले कम्पनीलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाएको छ।
कम्पनीले आयोजनबाट २०८९ फागुनदेखि बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ। माथिल्लो छुजुङ अध्यनको क्रममा रहेको छ।
इन्खु आयोजनाको डिजाइन वहाव प्रतिसेकेन्ड ७.४५ घनमिटर रहेको छ। कूल हेड चार सय मिटर अग्लो हुने भएको छ। आयोजनाबाट उत्पादन हुने बिजुलीको खरिद सम्झौता (पीपीए) को चरणमा रहेको युनिभर्सल पावरले जनाएको छ।
प्रस्तावित आयोजना सोलुखुम्बुको माप्य दुधकोसी गाउँपालिका वडा नम्बर ७ र सोताङ गाउँपालिका वडा नम्बर २ मा पर्छ। इङखु खोलामा २९ मिटर लामो पानी संकलन गर्ने संरचना निर्माण गरेर २९ सय ५० मिटर लामो सुरुङ हुँदै सोही खोलाको दाया किनारामा भूमिगत विद्युतगृह निर्माण गरी बिजुली उत्पादनको प्रस्ताव गरिएको छ।
आयोजनाको विद्युतगृहमा १२.६१ मेगावाट क्षमताका दुईवटा टवाईन जडान गरेर बिजुली उत्पादन गर्ने कम्पनीले जनाएको छ। आयोजनाबाट उत्पादन हुने बिजुली ५० किलोमिटर लामो १३२ केभी सिंगल सर्किट प्रसारण लाइन हुँदै नेपाल विद्युत प्राधिकरणको शीतलपाटी सबस्टेशनमा समाहित हुने भएको छ।
कम्पनीको चुक्ता पुँजी दुई अर्ब ४८ करोड रुपैयाँ छ। चालू आर्थिक वर्षको नौ महिनामा कम्पनीले दुई करोड पाँच लाख रुपैयाँ खुदनाफा गरेको छ। कम्पनीको जगेडा कोष तथा सञ्चित नाफा ३७ करोड १५ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।


