एजेन्सी। विश्वबजारमा कच्चा तेलको भाउ ओरालो लागेको छ। पश्चिम एसिया शान्त भई होर्मुज जलमार्गमा आपूर्ति सहज हुन थालेपछि कच्चा तेलको भाउ घटेर ब्यारेलको १०० डलर तल झरेको हो।
अमेरिका र इरान युद्ध सुरु भएपछि कच्चा तेलको यो सबैभन्दा कम मूल्य हो। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ घटेर ब्यारेलको ९८.८६ डलरमा कारोबार भएको आयल प्राइसले जनाएको छ। यस्तै मुरवान क्रुडमा ब्यारेलको ९५.०५ र डब्ल्युटीआई क्रुडमा ८२.९३ डलरमा कारोबार भएको छ।
अमेरिका र इरान युद्धका कारण होर्मुज जलमार्ग अवरुद्ध हुँदा पूर्वी एसियामा तेलको भाउ आकासिएर ब्यारेलको १२६ डलर माथि पुगेको थियो।
सन् २०२२ मा रुस र युक्रेनबीच युद्ध सुरु भएपछि कच्चा तेलको भाउ बढेर ब्यारेलको १४० डलरसम्म पुगेको थियो। त्यसपछि घटेर ब्यारेलको ५५ डलर आसपासमा कच्चा तेलको मूल्य थियो।तेलको भाउ बढ्दा शृङ्खलाबद्ध असर पर्छ। यसको प्रभाव विश्वभरिको अर्थतन्त्रमा फैलिन्छ।
कच्चा तेल केवल इन्धनका रूपमा मात्र प्रयोग हुँदैन। यसको उपयोग गरेर धेरैथरी वस्तुको उत्पादन गरिन्छ। कच्चा तेलको भाउ बढ्दा हवाई इन्धन, प्लास्टिक र प्याकेजिङ, रसायन तथा रासायनिक मलका उद्योगहरूको उत्पादन लागत बढ्छ।
द्वन्द्वका कारण ऊर्जा, खाद्यपदार्थ र हवाई भाडा पनि महँगिन सक्छन्।कतिपय एयरलाइन्सहरूले हवाई भाडा बढाइसकेका छन्। भारतको एयर इन्डियाले इन्धनको भाउ आकासिएपछि लामो दुरीका १०० बढी उडान कटौति गरेको समाचार आएका थिए।
हाल तेलको भाउका कारण रासायनिक मलको मूल्य पनि बढ्न थालेको छ। यसले गर्दा खानेकुराको मूल्य बढ्न सक्छ।
यसैगरी यातायात प्रणाली झनै महँगो भएको छ। खाद्य पदार्थ, उपभोक्ता सामग्री वा कच्चा पदार्थसहितका वस्तुहरूको ढुवानी यातायातमा निर्भर हुने हुनाले इन्धनको मूल्य चर्किँदा ती उपभोक्ताहरूसम्म पुग्दा महँगिसक्छन्।
आफ्नो पछिल्लो वर्ल्ड इकोनोमिक आउटलुकमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले इरान युद्धले विश्वको अर्थतन्त्रलाई खलबलाइदिने जोखिम रहेको चेतावनी दिँदै द्वन्द्व लम्बिए विश्वव्यापी मन्दीको जोखिम बढ्ने जनाएको छ।
साथै उसले उच्च मुद्रास्फीतिको प्रतिक्रियामा ब्याज दर बढाउनेबारे केन्द्रीय बैंकहरु सजग रहनुपर्ने भनेको छ।


