काठमाडौँः सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार नेपालमा उद्योग क्षेत्रका लागि स्वदेशी तथा विदेशी लगानीको प्रतिबद्धता निरन्तर बढिरहेको देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३को फागुन मसान्तसम्म उद्योग क्षेत्रमा स्वीकृत कुल लगानी ४९ खर्ब ५२ अर्ब ६ करोड रुपैयाँ पुगेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्ले ले संसद्मा प्रस्तुत गरेको सर्वेक्षणअनुसार कुल स्वीकृत लगानीमध्ये सबैभन्दा ठूलो हिस्सा उद्योग विभागमार्फत आएको छ। विभागबाट ३३ खर्ब ३७ अर्ब ८० करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ, जुन कुल लगानीको ६७.४ प्रतिशत हो।
त्यस्तै, लगानी बोर्ड नेपाल मार्फत १६ खर्ब १४ अर्ब २६ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ। यो कुल स्वीकृत लगानीको ३२.६ प्रतिशत हिस्सा हो।
चालु आर्थिक वर्षको फागुनसम्म मात्रै उद्योग विभागबाट ३ खर्ब ८९ अर्ब ७४ करोड रुपैयाँ तथा लगानी बोर्ड नेपालबाट १ खर्ब २ अर्ब २६ करोड रुपैयाँ बराबरको थप लगानी स्वीकृत भएको छ। यस अवधिमा कुल ४ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको नयाँ लगानी प्रतिबद्धता थपिएको हो।
यससँगै २०८२ फागुनसम्म उद्योग क्षेत्रमा स्वीकृत कुल लगानी ५४ खर्ब ४४ अर्ब ६ करोड रुपैयाँ पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ।


