काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समाजवादी मोर्चा भित्री र बाहिरी शक्तिसँग बार्गेनिङ गर्ने हतियार नबनोस् भनेर शुभकामना दिएका छन्। बाबुराम समाजवादी मोर्चाका परिकल्पनाकार हुन्।
जसपा अध्यक्ष उपेन्द्र यादव चार दलीय समाजवादी मोर्चामा आबद्ध भएपछि हच्किएका बाबुरामले केहीलाई सधैं र धेरैलाई केही बेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न नसकिने हेक्का रहोस् भन्दै टिप्पणी गरेका हुन्।
केही दिनअघि प्रचण्डसँग भेटेर समाजवादी मोर्चामा जाने धारणा व्यक्त गरेका भट्टराई अन्तिममा अस्वीकारेका थिए।
बाबुरामले समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन भनेका छन्। ‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन। यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो,’ उनले ट्वीटमा भनेका छन्।
उनले अगाडि भनेका छन्, ‘कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्। केहीलाई सधैं र धेरैलाई केही बेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस्।’ सोमबार माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समाजवादी मोर्चा बनेको थियो।


