काठमाडौँ- अधिकांश सरकारी कार्यालयका वेबसाइट चल्न छोडेका छन्। सिंहदरवारस्थित राष्ट्रिय सूचना प्रविधिक केन्द्र (डाटा सेन्टर)को सेवा अवरुद्ध हुँदा सरकारी कार्यालयका वेबसाइट डाउन भएका हुन्।
‘डाटा सेन्टरमा विद्युत प्रवाह हुने सिंहदरबारस्थित नेपाल विद्युत प्राधिकरणको ट्रान्सफर्मर विस्फोट भएकाले सेन्टरमा विद्युत आपूर्ति भएको छैन। यसबाट डाटा सेन्टरको काम अवरुद्ध भएको छ,’ सेन्टरका एक कर्मचारीले भने, ‘सेन्टरको जेनेरेटरको क्षमता पनि नपुग्ने भएकाले सेवा अवरुद्ध भएको छ। सेन्टरको सेवा अवरुद्ध हुँदा सरकारी कार्यालयका वेबसाइट डाउन भएका हुन्।’
सिंहदबारमा रहेको प्राधिकरणको सवस्टेनसनमा लगातार दुई पटकसम्म विस्फोट भएको आवाज सुनिएको थियो। अपराह्न १२:३० बजे डाटा डेडिकेटेट लाइनको ट्रान्सफर विस्फोट भएको थियो।
ट्रान्सफर्मर विस्फोट भएपछि डाटा सेन्टरका कर्मचारीले प्राधिकरणलाई खबर गरेका थिए। त्यसपछि प्राधिकरणका कर्मचारीहरु मर्मतका लागि घटनास्थलमा पुगेका थिए। ५० देखि ६० जना प्राधिकरणका कर्मचारी यसको मर्मतसंभारमा खटिएपनि यसको मर्मत हुन नसकेकाले सेन्टरको काम प्रभावित हुन पुगेको हो।
मर्मतका लागि आवश्यक पर्ने उपकरण नपाइएको प्राधिकरणका कर्मचारीले बताएका छन्। बिहानदेखि नै विद्युत उत्तारचढाव भएपछि सेन्टरले प्राधिकरणलाई खबर गरेको थियो। तर, प्राधिकरणले यसलाई गम्भिरतापूर्वक नलिएपछि डाटा सेन्टरले हाई भोल्टेजको जनेटर मार्फत विद्यूत आपुर्ति गरेर प्रणाली सुचारु गरेको थियो।
विद्युत अवरुद्ध भएको १२ घण्टा पुग्न लाग्दा समेत मर्मत नभएको र डाटा सेन्टरको जनेटरले समेत भार थेग्न नसकेपछि सेन्टरले आफ्नो सेवा अवरुद्ध गरेको छ। सिंहदरबारजस्तो संवेदनशील स्थानमा रहेको सवस्टेसन विस्फोट हुनुले प्राधिकरणले प्रयोग गर्ने उपकरणको गुणस्तरमा प्रश्नचिन्ह खडा सिंहदरबारमा कार्यरत एक कर्मचारीले बताए।
‘सिंहदरबार जस्तो संवेदनशील स्थानमा प्राधिकरणको सबस्टेसनमा रहेको ट्रान्सफर्मर रुग्ण अवस्थामा पुगेको र यसलाई समयमा नै मर्मतसंभार गर्नेतर्फ प्राधिकरणको ध्यान पुगेको देखिएन,’ ती कर्मचारीले भने, ‘प्राधिकरणले ट्रान्सफर्मर मर्मतका लागि चासो नदिँदा आज डाटा सेन्टरको सम्पूर्ण काम प्रभावित भएको छ।’
सेन्टरले १४ सय सरकारी कार्यालयका वेबसाइट होस्ट गर्नुका साथै ३ हजारभन्दा बढी सरकारी कार्यालयका डोमेन सेन्टरले दर्ता गरेको छ।


