काठमाडौँ: पर्यटन व्यवसायीहरूको लगानीमा काभ्रेको नमोबुद्धमा बोधी रिसोर्ट निर्माण भइरहेको छ। रिसोर्ट सन् २०२७ मा सञ्चालनमा आउने भएको छ। यसअघि गत वर्ष नै रिसोर्ट सञ्चालनमा ल्याउने योजना कम्पनीको थियो। विभिन्न कारणले रिसोर्ट निर्माण पछि धकेलिएको हो।
बोधी रिसोर्ट बनाउन ९० करोड ६० लाख रुपैयाँ लागत अनुमान गरिएको छ। यसअघि ६३ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा पछि बढेर ८८ करोड ५० लाख रुपैयाँ पुगेको थियो। त्यसपछि पनि रिसोर्टको लागत संशोधन भएको छ। संरचनाहरूमा परिवर्तन भएका कारण लागत बढेको रिसोर्टले जनाएको छ।
यस्तै लागत थपिएपछि रिसोर्टको स्वपुँजी (इक्विटी) र ऋण लगानी संरचनामा परिवर्तन भएको छ। जसअनुसार ७२ प्रतिशत ऋण र २८ प्रतिशत स्वपुँजी हुने गरी लगानी संचरना बनाइएको छ। यसअघि ८०ः२० र ७०ः३० को लगानी संरचना थियो। पहिला भन्दा लागत २४ करोड ९० लाख रुपैयाँ थप भएको छ। लागत बढेपछि स्वपुँजीको अनुपात पनि बढेको छ।
‘बोधी रिसोर्ट नेपाल’ ब्राण्डमा सञ्चालन हुने भएको छ। रिसोर्टमा १५ कोठा, १० डिलक्स भिल्ला, एक प्रेसिडेन्सियल भिल्ला र एक आर्टिस्ट भिल्ला हुनेछ।
सूर्योदय र सूर्यास्तका साथै नेपालका १३ मध्ये ८ हिमालय पर्वत श्रृङखलाहरूको फराकिलो दृश्य हेर्नको लागि प्रसिद्ध छ। पहाडको टुप्पो वरिपरि अवस्थित कलात्मक मठहरू र ‘सेक्रिफाइस टु द टाइगर’ मूर्तिले आगन्तुकहरू आकर्षित हुन्छन्।
धूलिखेल, पनौती, बल्थली र दाप्चा जस्ता विभिन्न पर्यटकीय स्थलहरूबाट नमोबुद्ध सजिलै पुग्न सकिन्छ। बोधी रिसोर्ट राजधानी काठमाडौंबाट ४० किलोमिटर दक्षिण पूर्वको नमोबुद्धमा रहेको छ।
नमोबुद्धमा पछिल्लो समयमा रिसोर्ट खुल्ने क्रम बढेको छ। यसअघि थाइल्यान्डको दुषित थानीको लगानीमा रिसोर्ट सञ्चालमा छ। अन्य रिसोट पनि खुल्ने क्रम बढेको छ। मुलुकको पयटकीय गन्तव्य र ठूला सहरहरूमा होटल तथा रिसोर्ट खुलिरहेका छन्। अझै ठूलो लगानीका दुई दर्जन बढी होटल र रिसोर्ट पाइपलाइनमा छन्।
रिसोर्ट व्यवस्थापनमा चार जना सञ्चालक रहेका छन्। कम्पनीको अध्यक्षमा कल्सङ पल्जोर शेर्पा रहेका छन् उनको रिसोर्टमा २५ प्रतिशत स्वामित्व रहेको छ।


