जुम्लाको सिँजा गाउँपालिका २ अवस्थीबाडाका तीन बालक हराएको दुई दिनपछि भेटिएका छन्। काफल खान भनेर जंगल गएका उनीहरू २ दिनपछि जुम्ला–कालीकोट सिमानाको उच्च लेकाली क्षेत्रमा एक एनसेल टावरमुनि आश्रय लिएर बसिरहेको अवस्थामा भेटिएका हुन्।
खड्क खत्रीका ७ वर्षीय छोरा परिवर्तन विष्ट, पदम विष्टका ८ वर्षीय छोरा प्रशान्त खत्री र विष्णु रोकायका १२ वर्षीय छोरा विनोद रोकाय सोमबार स्कुल जान भनेर घरबाट निस्किएका थिए। इलाका प्रहरी कार्यालय नराकोटका अनुसार त्यसक्रममा उनीहरू काफल खान भन्दै जंगलतिर गएका थिए। तर जंगलको मध्यभागमा पुगेपछि घर फर्किने बाटो बिर्सिएर अर्को बाटो लागेका थिए।
बुधबार बेलुका उनीहरू जंगलकै एक टावरमुनी आश्रय लिएर बसिरहेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय नराकोटले जनाएको छ।
बालकहरू साँझ अबेरसम्म पनि नफर्किएपछि अभिभावकहरूले विद्यालय र बजार क्षेत्र आसपास खोजी गरेका थिए। तर नभेटिएपछि अभिभावकहरूले प्रहरीलाई खबर गरेका थिए।
वडाअध्यक्ष तीर्थ वडले बालकहरूलाई स्थानीयको सहयोगमा प्रहरीले सकुशल फेला पारेको बताए।
तीनै जना ‘सालम बोर्डिङ स्कुल’ मा अध्ययनरत रहेकोमा उनीहरू स्कुल ड्रेसमै फेला परेका हुन्।


