काठमाडौं। बहुराष्ट्रिय कम्पनी आरती स्ट्रिप्स प्रालिको व्यापारमा चमक आएको छ। गत वर्ष आरतीको व्यापार २६.८१ प्रतिशत बढेर १८ अर्ब ४३ करोड ६० लाख रुपैयाँ पुगेको छ।
सन् २०२४ मा आरतीले १४ अर्ब ५३ करोड ८० लाख रुपैयाँ बराबरका ग्याल्भेनाइज्ड जस्तापाता, डन्डी र पाइपलगायत निर्माण सामग्रीको उत्पादन तथा व्यापार गरेको थियो। एक वर्षमा उद्योगको व्यापार तीन अर्ब ९० करोड रुपैयाँ बढेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।
व्यापार बढे पनि मार्जिन भने ९.६४ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष मार्जिन १२.१० प्रतिशत थियो।
२०२३ मा आरतीले १४ अर्ब १२ करोड १० लाख रुपैयाँबराबरको व्यापार गरेको थियो। यस्तै २०२२ मा १४ अर्ब २७ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार गरेको वित्तीय विवरणमा उल्लेख छ।
उद्योगले २०२१ मा १३ अर्ब ६१ करोड ७० लाखको कारोबार गरेको थियो। यस्तै, २०२० मा आरतीको जस्ता व्यापार १२ अर्ब ३२ करोड रुपैयाँ थियो। वित्तीय विवरण हेर्दा उद्योगको बर्सेनि कारोबार बढ्दै गएको देखिएको छ।
कोल्ड रोलिङ मिल (सीआरएम) को विस्तारले उत्पादन क्षमता बढ्नुका साथै भारततर्फको निर्यात वृद्धि भएको हो। कूल व्यापारको आधा भन्दा बढी हिस्सा भारत निर्यातको छ।
आर्थिक वर्ष २०२६ को सुरुवातदेखि व्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआइएस) ले नविकरण नगर्दा आरतीको निर्यात व्यापारमा व्यापारमा असर परेको छ। नौ महिनामा उद्योगले आठ अर्ब १४ करोड ७० लाख रुपैयाँबराबरको स्टिल व्यापार गरेका छ।
तर, गत अप्रिलमा नौ मध्ये सात प्रमाणपत्रहरू नवीकरण भएको छ। उद्योगलाई उत्पादन निर्यात गर्न बाटो खलिसकेको छ। बाँकी दुई प्रमाणपत्रहरू चाँडै स्वीकृति हुने अपेक्षा गरिएको उद्योगले जनाएको छ। दुईको स्वीकृति पाएपछि आगामी महिनाहरूमा बिक्री वृद्धिलाई अझ बलियो बनाउनेछ।
उद्योगले आरती स्पेक्ट्रा ब्रान्डअन्तर्गत रंगीन जस्तापाता र आरती सुरक्षा ब्रान्डमा ग्याल्भेनाइज्ड जस्तापाता र एमएस पाइपहरूको उत्पादन तथा बिक्री वितरण गर्दे आएको छ। निर्माण उद्योगमा लामो समयदेखिको उपस्थितिका कारण आरती नेपाल बजारमा स्थापित बहुर्राष्ट्रिय ब्रान्ड हो।
ग्याल्भ्यालुम पाताहरू आरती सिल्भर ब्रान्डअन्तर्गत बिक्री हुँदै आएको छ। आरती मुलुको प्रमुख उद्योगमध्ये एक हो। आरतीको स्थापित ब्रान्ड छविले ग्राहक विश्वास सुनिश्चित गर्दै आएको जनाएको छ।
आरतीले सबै प्रमुख सहरमा लगभग २०० डिलरको स्थापित नेटवर्कमार्फत आफ्ना उत्पादनको बजारीकरण र बिक्री गर्छ। जसले यसको उत्पादनका लागि तयार बजार प्रदान गर्छ।
आरतीले ग्याल्भेनाइज्ड प्लेनरग्याल्भेनाइज्ड कोरुगेटेड, रिज ग्याल्भेनाइज्ड आइरन र जिंक आधारित प्रिप्रिन्टेड ग्याल्भेनाइज्ड आइरन, प्रोफाइल पाताहरू, एमएस ट्युबलगायत उत्पादन गर्छ।
उद्योगले २०२१ सेप्टेम्बरदेखि ग्याल्भेनाइज्ड प्लेनरग्याल्भेनाइज्ड कोरुगेटेड उत्पादनमा प्रवेश गरेर आफ्नो ‘पोर्टफोलियो’लाई थप विस्तार गरेको छ।
आर्थिक वृद्धिको सुस्त गति र पूर्वाधारमा सरकारी खर्चमा आएको कमीले नेपालको निर्माण क्षेत्रले हाल दिनमा चुनौतीको सामना गरिरहेको छ। फलस्वरूप, नेपालभित्र स्टिल उद्योगको लागि निकट भविष्य कठिन देखिएको छ।
उद्योगले कच्चा पदार्थ मुख्यतया भारत र चीनबाट आयात गर्छ। एचआर कोइल र पाता, पेन्ट र आल्मुनियमको मूल्य बजारसँग जोडिएको हुन्छ।
कच्चा पदार्थको लागत ८२ प्रतिशत रहेको छ। यसको मूल्य अमेरिकी डलरसँग जोडिएको हुन्छ । जसका लागि यो विदेशी मुद्रा उतारचढाव जोखिममा पर्छ ।
आरती स्ट्रिप्स सन् २००१ मा नेपालको विराटनगरमा वेट फ्लक्स ग्याल्भेनाइज्ड प्लेन जस्तापाता उत्पादन गर्न स्थापना गरिएको हो।
उद्योगको वार्षिक उत्पादन क्षमता बढेर चार लाख ७३ हजार टन प्लान्ट क्षमताको साथ विस्तृत शृंखलाका स्टिल उत्पादन उत्पादन गर्दै आएको छ ।उद्योग चार भारतीय कम्पनीहरुको लगानीमा स्थापना भएको हो।


