धनगढी: सधैंझैं यस वर्ष पनि सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो। लामो समय मल पाउने आशामा बसेका किसान अन्ततः मलबिनै रोपाइँ गर्न बाध्य भएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर–३ का मनबहादुर चौधरी असार तेस्रो सातासम्म पनि रासायनिक मलको प्रतीक्षामा बसे। मलका लागि यहाँका हरेक सहकारी धाइरहे तर, कतै पनि मल पाइने अवस्था नभएपछि चौधरी मलविना नै रोपाइँमा व्यस्त भएका छन्।

‘मलको प्रतीक्षामा रोपाइँ नै ढिलो हुन थाल्यो,’ चौधरीले भने, ‘अहिले रोपाइँ सुरु गरेको छु, मल पाएको छैन।’ मनबहादुरका अनुसार धान रोपाइँका लागि डिएपी मल आवश्यक पर्ने हुन्छ। तर यस पटक रोपाइँ सकिने समयसम्म पनि मल प्राप्त हुन नसकेको उनको दुःखेसो छ।

मनबहादुर जस्तै सुदूरपश्चिममा रासायनिक मलका लागि भौतारिने किसानको संख्या उच्च छ। कैलाली, कञ्चनपुरका धेरै किसानले यस पटक रासायनिक मलविनै रोपाइँ गर्नुपरेको छ। सरकारी अनुदान प्राप्त रासायनिक मल विक्रेता कृषि सामग्री केन्द्र लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीका अनुसार यस वर्ष गत वर्षको भन्दा न्यून रासायनिक मल उपलब्ध भएको छ। जसका कारण रोपाइँमा मलको अभाव सिर्जना भएको हो।

कृषि सामग्री केन्द्र लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रादेशिक प्रबन्धक नवलसिंह बोगटीले भने, ‘यस वर्ष विगतको भन्दा पनि कम मल आयात हुँदा किसानले मल प्राप्त गर्न नसकेको यथार्थ हो, आउँदै नआएको भने होइन, अहिले पनि जेततेन वितरण भइरहेको छ।’

बोगटीका अनुसार यस वर्ष फागुनदेखि सुदूरपश्चिममा डिएपी मल आयात हुन सकेको छैन। ‘फागुनपछि डिएपी उपलब्ध भएको छैन,’ बोगटीले भने, ‘भएको मौज्दात डिएपी थोरै–थोरै गरेर सहकारीलाई वितरण गरिरहेका छौं, तर त्यो पर्याप्त हुन सकेको छैन।’

प्रादेशिक प्रबन्धक बोगटीका अनुसार गत वर्षको साउनदेखि फागुनसम्म सुदूरपश्चिम प्रदेशमा १५ हजार ३ सय २७ मेट्रिकटन युरिया, ८ हजार ३ सय ८० मेट्रिकटन डिएपी र ८ सय १६ मेट्रिकटन पोटास बिक्री वितरण गरिएको थियो। हाल ३ सय ३० मेट्रिकटन युरिया, ३ सय ६ मेट्रिकटन डिएपी र १ सय २९ मेट्रिकटन पोटास मौज्दात रहेको छ। बिक्री भएको डिएपी र युरियामध्ये अधिकांश हिउँदे बालीका लागि प्रयोग भइसकेका कारण धानका लागि अपुग भएको उनले बताए।

सुदूरपश्चिममा धान खेतीका लागि मात्रै कम्तिमा ८ हजार मेट्रिकटन डिएपी आवश्यक पर्ने गर्दछ। यस वर्ष अमेरिका र इरानबीच भएको युद्धका कारण पनि समयमै रासायनिक मल आयात हुन समस्या सिर्जना भएको उनको भनाइ छ।

त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेसन सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख तेजबहादुर कुँवरले पनि यस वर्ष रासायनिक मलको अभाव अझै बढी रहेको बताए। कुँवरले पनि अमेरिका–इरान युद्धको प्रभावका कारण यस पटक रासायनिक मलको अभाव हुने अवस्था आएको बताए।

‘आउँदै नआएको भन्ने पनि होइन,’ उनले भने, ‘तर तुलनात्मक रूपमा केही कम मल आएको छ, यसले कृषकलाई धान रोपाइँका बेला समस्या भएको छ।’

कुँवरका अनुसार गत साउनदेखि हालसम्म ५ हजार ७१ दशमलव ६० मेट्रिकटन युरिया, ५ हजार ७ सय ८१ मेट्रिकटन डिएपी र २ सय ६४ मेट्रिकटन पोटास भित्रिएको छ। त्यसमध्ये असार २६ गतेसम्म ५ हजार ६१ दशमलव २० मेट्रिकटन युरिया, ५ हजार ६ सय ९० दशमलव २० मेट्रिकटन डिएपी र ५ सय ४ दशमलव १० मेट्रिकटन पोटास बिक्री भइसकेको कुँवरको भनाइ छ।

उनका अनुसार हाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग ५८ दशमलव ८५ मेट्रिकटन युरिया, ९१ दशमलव ७० मेट्रिकटन डिएपी मौज्दात रहेको छ। बाटोको अवरोध र ढुवानीमा भएको समस्याका कारण पनि यस पटक डिएपी मलको अभाव भएको उनले बताए।

हाल भैरहवामा रहेको पुरानो स्टकबाट ५ सय मेट्रिकटन थप मल उपलब्ध भएको र सो मल सहकारीमार्फत कृषकलाई वितरण गर्ने कार्य भइरहेको उनले बताए।

युरिया मलको अभाव नहुने दाबी

सुदूरपश्चिममा यस वर्ष धान रोप्दा डिएपी मलको अभाव झेलेका कृषकले युरिया मल सहजै पाइने दाबी गरिएको छ। सामान्यतया धान रोपेको २५ दिनदेखि एक महिनाभित्र कृषकले धानमा युरिया मल छर्ने गर्दछन्।

जसअनुसार अबको एक सातापछि यहाँका कृषकलाई युरिया मल आवश्यक पर्ने छ। सो समयसम्म युरिया मल भित्रिसक्ने मल वितरक संस्थाले जनाएका छन्।

कृषि सामग्री केन्द्र लिमिटेड सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रबन्धक नवलसिंह बोगटीले साउन २–३ गतेभित्र सुदूरपश्चिममा युरिया पुग्ने जानकारी आफूले पाएको बताए।

‘३ सय ३० मेट्रिकटन युरिया अहिले पनि हामीसँग मौज्दात रहेको छ,’ बोगटीले भने, ‘धेरै किसानले डिएपीसँगै युरिया मल लगिसकेका छन्। आगामी साउन २–३ गते थप युरिया मल यहाँ पुग्ने जानकारी प्राप्त भएको छ, त्यसैले डिएपीजस्तो अभाव युरियामा हुने छैन।’

साल्ट ट्रेडिङ कर्पोरेसन सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख तेजबहादुर कुँवरले पनि युरियामा डिएपीजस्तो अभाव नहुने बताएका छन्। धेरै कृषकले यसअघिनै धानका लागि चाहिने युरिया मल लगेर भण्डारण गरिसकेका कारण पनि समस्या नहुने उनको दाबी छ।