काठमाडौँ: त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुको सोरु गाउँपालिका–१ जवलधाराका २५ वर्षीय गणेश नेपालीको परिवारलाई राहत, रोजगारी, शिक्षा र घटनाको निष्पक्ष छानबिन सुनिश्चित गर्ने विषयमा नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको सहमतिअनुसार सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्ने, मृतकलाई शहीद घोषणा गर्ने विषयमा कानुनी प्रक्रिया अघि बढाउने तथा घटनामा खटिएका काठमाडौं महानगरपालिकाका नगर प्रहरी कर्मचारीलाई हालका लागि निलम्बन गर्ने लगायतका निर्णय गरिएको हो।
सहमतिपत्रमा नेपाल सरकार र काठमाडौँ महानगरपालिकाले गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै परिवारलाई राहत, मृतककी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च, श्रीमतीलाई रोजगारी, स्वास्थ्य बीमा, अन्त्येष्टि तथा काठमाडौं बसाइँको सम्पूर्ण खर्च व्यवस्थापन गर्ने प्रतिबद्धता जनाइएको छ।
९ बुँदे सहमति
१. घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गर्न नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र स्वतन्त्र छानबिन समिति गठन गर्नेछ। समितिले गठन भएको सात दिनभित्र प्रतिवेदन सरकारलाई बुझाउनेछ।
२. गणेश नेपालीलाई सहिद घोषणा गर्ने विषयमा प्रचलित कानुन, विगतको अभ्यास तथा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा नेपाल सरकारले आवश्यक निर्णय प्रक्रिया अघि बढाउनेछ।
३. घटनाका दिन फिल्डमा अग्रभागमा खटिएका काठमाडौं महानगरपालिकाका नगर प्रहरी कर्मचारीलाई छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा थप निर्णय हुने गरी हाललाई निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले काठमाडौं महानगरपालिकालाई पत्राचार गर्नेछ।
४. काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय गरी मृतककी श्रीमतीलाई योग्यता र क्षमताअनुसार रोजगारी उपलब्ध गराइनेछ। मृतककी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्नेछ र यसका लागि सम्बन्धित सरकारी निकायले समन्वय गर्नेछन्।
५. कार्यपालिका बैठकको निर्णयअनुसार मृतकको आश्रित परिवारलाई राहतस्वरूप उपयुक्त रकम उपलब्ध गराइनेछ।
६. मृतकको अन्त्येष्टि तथा काठमाडौंमा गरिने काजक्रियाको सम्पूर्ण व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्नेछ।
७. पीडित परिवारले शव बुझ्ने, पोस्टमार्टमलगायत कानुनी प्रक्रियामा पूर्ण सहयोग गर्ने र अन्त्येष्टि सम्पन्न गर्ने जिम्मेवारी लिनेछ।
८. मृतकका एकाघरका परिवारजनको काठमाडौं आउजाउ, बसोबास तथा काजक्रिया अवधिभर लाग्ने सम्पूर्ण खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्नेछ।
९. मृतकका एकाघरका परिवारको स्वास्थ्य बिमाको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत गरिनेछ।


