काठमाडौँ- प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदले उठाएका प्रश्नको उत्तर दिइरहेका छन्। यो समाचार तयार पार्दासम्म पनि यो क्रम जारी छ।
यसैबीचमा नेपाली कांग्रेसकी सांसदले गोकर्णेश्वर नगरपालिकाका विषयमा प्रश्न सोधिन्। प्रश्न सोध्नअघि नै सभामुख देवराज घिमिरेले उनको नाम भनेका थिए। तर बस्नेतले प्रश्न सोधेपछि फेरि प्रधानमन्त्रीले उनको नाम फेरि भनिदिन सभामुख घिमिरेसँग आग्रह गरे। सभामुखले बस्नेतको नामथर भनिदिए।
यसपछि प्रधानमन्त्रीले उनको प्रश्नमा उत्तर दिनका लागि तयारी गरी ल्याएको टिपोटका पेपरहरू पल्टाए। खोजे। तर भेटिएन। दुई पटक वारपार गर्दा पनि बस्नेतको प्रश्नमा दिनुपर्ने उत्तरको चिर्कटो नभेटिएपछि उनले सानो स्वरमा भने- कसरी गडबढ खायो त? उनका लागि मनमनै भनेको हुन सक्ने यो उत्तर लाइभमा समेत प्रष्टसँग सुन्न सकिन्थ्यो। यसबेला पोडियमको माइक बन्द भएको थिएन।
जे होस् उत्तर पुस्तिका भेटिएन। नभेटिएपछि बस्नेतलाई पुनः प्रश्न दोहोर्याउन आग्रह गरे। सभामुख घिमिरेले प्रश्न दोहोर्याउन सभामुखले समय दिए। बस्नेतले मुसुमुसु हास्दै प्रश्न दोहोर्याइन्।
उनले उठाएको प्रश्नमा प्रधानमन्त्रीले सरकारले पहिले नै पहल गरिसकेको उत्तर दिएर धन्यवाद दिँदै उत्तर समापन गरे।


