घडीले राति १२ बजेको समय पार गरिसकेको थियो। राजधानीका अधिकांश सडक सुनसान बन्दै गएका थिए। तर माइतीघर मण्डलामा भने केही मानिस अझै निदाएका थिएनन्। रात जति गहिरिँदै गएको थियो, माइतीघरको चिसो पनि त्यति नै बढ्दै गएको थियो।
उनीहरूको रात घरको न्यानो ओछ्यानमा होइन, खुला आकाशमुनि चिसो भुइँमा बितिरहेको थियो। देशका विभिन्न जिल्लाबाट न्यायको खोजीमा काठमाडौं आइपुगेका लघुवित्त पीडितहरूले बस्ने कुनै सुरक्षित ठाउँ नपाएपछि माइतीघरलाई नै अस्थायी बास बनाएका थिए।
लगातार परिरहेको वर्षाबाट जोगिन कसैले प्लास्टिक ओढेका थिए भने कसैले लगाउने कपडालाई नै त्रिपाल बनाएर त्यसैमुनि रात कटाइरहेका थिए। कोही नजिकैका घरको पेटीमा त कोही गाडी पार्किङस्थलमा आश्रय लिएर बसेका थिए। केही पीडित भने निदाउनै नसकेर रातभरि यताउति हिँडिरहेका थिए।
यही भीडबीच केही पीडित साउन १२ गते मंगलबारदेखि आमरण अनशनमा बसेका छन्। उनीहरूको शरीर दिनप्रतिदिन कमजोर बन्दै गएको छ, तर माग भने उही छ— राज्यले आफ्ना आवाज सुनोस् र न्याय प्रदान गरोस्।
माइतीघरको सडक किनारमै केही दिनदेखि उनीहरूको दैनिक जीवन चलिरहेको छ। बिहानदेखि बेलुकासम्म आन्दोलन गर्ने, साँझ भएपछि त्यहीँ खाना पकाउने र खाने, अनि रात पर्नासाथ प्लास्टिकको ओतमा निदाउने प्रयास गर्ने उनीहरूको दिनचर्या बनेको छ। वर्षा, चिसो र असुविधाबीच बितिरहेको उनीहरूको दैनिकी आन्दोलनको अर्को कठोर पाटो बनेको छ।
आन्दोलनकारीहरूले राज्यले लामो समयदेखि आफ्ना पीडाप्रति बेवास्ता गरेकाले पटक–पटक राजधानी आएर आन्दोलन गर्नुपरेको बताएका छन्। बस्ने ठाउँको व्यवस्था नहुँदा माइतीघरमै रात बिताउनु उनीहरूका लागि बाध्यता बनेको छ।
न्यायको आशामा राजधानी आएका यी लघुवित्त पीडितहरूको प्रतीक्षा भने अझै टुंगिएको छैन


















