अहिले सम्बोधनको तयारी भइरहेको छ।

जिल्ला प्रशासन कार्यालय वीरगञ्जले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाका तोकिएका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ।
बिहीबार प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा आज साँझ ५ देखि भोलि शुक्रबार बिहान ६ बजेसम्म बजेसम्मका लागि निषेधाज्ञा लागू रहने हो।
प्रशासनका अनुसार वीरगंज महानगरपालिकाको देहायका चार किल्ला भित्र पाँच जना भन्दा बढी मानिसहरु जम्मारभेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको छ। उक्त आदेशको उद्देश्य शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्नु रहेको छ।
प्रशासनले निषेधाज्ञाको पालना गर्न सबै नागरिकसँग आग्रह गर्दै आदेश उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

सिरहामा दुई पक्षबिच भएको झडपका बिहीबार एक जनाको मृत्यु भएको छ। औरही गाउँपालिका–२ का अन्दाजी १५ वर्षीय गणेश यादवको उपचारका क्रममा मृत्यु भएको हो। यस्तै धनुषाधाम घर भएका अन्दाजी १८ वर्षीय सुभाष गम्भीर घाइते भएका छन्। उनलाई काठमाडौँ लगिएको छ। सम्भावित थप अप्रिय घटना हुन नदिन सिरहाका पनि विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ।
यसअघि आइतबार राति देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको थियो। २५ वर्षीय ओमप्रकाश मेहताको आइतबार राति नै मृत्यु भएकोमा अर्का घाइते २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

कप्तानगञ्जमा दुई समुदायबीच उत्पन्न विवाद आइतबार राति झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले हवाई फायर गरेको थियो। घटनामा १० जनालाई गोली लागेको थियो। आठ जना विभिन्न अस्पतालमा उपचाररत छन्। घटनापछि सोमबारयता मधेशका सुनसरी, सिरहा र पर्सालगायत जिल्लाका विभिन्न स्थानमा आगजनी, तोडफोड, लुटपाट तथा व्यक्ति लक्षित आक्रमणका घटना घटेका छन्।मधेशको सुरक्षा अवस्था थप तनावग्रस्त बनेको छ।
यसैबीच मधेश अशान्त बन्दै गएपछि प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। उनले बिहीबार बेलुका ६:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राष्ट्रका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
अहिले सम्बोधनको तयारी भइरहेको छ।



