ललितपुर। ३२औँ प्रकाश मानव अधिकार पुरस्कार २०८२ यस वर्ष सिन्धुलीको कमलामाई नगरपालिका ९, भीमान निवासी तथा दुई दशकभन्दा बढी समयदेखि शोषण र विभेदमुक्त समाज निर्माणको अभियानमा निरन्तर सक्रिय मानव अधिकारकर्मी रुद्रबहादुर खड्कालाई प्रदान गरिएको छ।
साउन १६ गते ललितपुरमा आयोजित विशेष कार्यक्रममा सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले खड्कालाई सम्मानपत्र, इन्सेकको प्रतीकचिन्ह तथा नगद ५० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिन्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको ३४औँ स्मृति दिवसका अवसरमा प्रदान गरिने यो पुरस्कार २०५१ सालमा स्थापना गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ न्यायाधीश मल्लले नेपालमा राजनीतिक परिवर्तन भए पनि द्वन्द्वका घाउहरूको न्यायपूर्ण परिपूर्ति अझै हुन बाँकी रहेको उल्लेख गरिन्।
अदालतले न्यायको ढोका खोल्न सक्ने भए पनि नागरिकले सम्मानका साथ बाँच्ने वातावरण सिर्जना नभएसम्म मानव अधिकारको वास्तविक प्रत्याभूति हुन नसक्ने उनको भनाइ थियो।
पुरस्कार ग्रहणपछि आफ्नो मन्तव्य व्यक्त गर्दै पुरस्कृत व्यक्तित्व खड्काले आफ्नै जन्मजिल्ला सिन्धुलीका स्वर्गीय प्रकाश काफ्लेको स्मृतिमा स्थापित प्रतिष्ठित पुरस्कारबाट सम्मानित हुन पाउनु गौरवको विषय भएको बताए।
खड्काले ग्रामीण तहदेखि नै मानव अधिकारको सचेतना, नागरिक जागरण र सुशासन प्रवर्द्धनका लागि सबै पक्ष एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिँदै मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा सामूहिक प्रयास अपरिहार्य रहेको धारणा राखे।
उनी मानव अधिकार शिक्षा कलबाट मानव अधिकारको क्षेत्रमा प्रवेश गरी पत्रकारताका माध्यमबाट मानव अधिकार शिक्षाको प्रवर्धन गर्ने कार्यमा क्रियाशील रहेका छन्।
हाल उहाँ स्वाधीन खबरपत्रिकाको प्रधानसम्पादक र मानव आवाज अनलाइनमा सक्रिय छन्।
प्रकाश मानव अधिकार पुरस्कार मानव अधिकार, सामाजिक न्याय तथा विभेदविरुद्धको अभियानमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई प्रत्येक वर्ष प्रदान गरिँदै आएको प्रतिष्ठित सम्मान हो।


