सीतामढी: सरकारले मल उपलब्ध गराउन नसकेपछि सीमावर्ती भारतीय बजार सोनवर्षाबाट आफैंले किनेर ल्याउँदा पक्राउ परेका सर्लाहीका दुई किसान दाजुभाइ सुरेशप्रसाद सिंह र नगेन्द्रप्रसाद सिंह एक महिनाभन्दा बढीको जेल बसाइपछि शुक्रबार साँझ जमानतमा रिहा भएर घर पुगेका छन्।
भारतस्थित सीतामढी जिल्लाको डुमरामा रहेको व्यवहार अदालतले उनीहरूलाई जमानतमा छाड्ने आदेश बुधबार दिएको थियो। सोही आदेशअनुसार कानुनी प्रक्रिया पूरा गरी आज उनीहरू ३८ दिन जेलमा बसेर मुक्त भएका हुन्।
अदालतका मुख्य जिल्ला न्यायाधीश अखिलेशकुमार झाको एकल इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्ने निर्णय सुनाएको हो।
१७ असारमा २ बोरा युरिया र ६ बोरा डीएपी मल लिएर घर फर्किंदै गरेका बलरा नगरपालिका–५ का ५५ वर्षीय सुरेश र ६० वर्षीय नागेन्द्रलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय कृषि विभागको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो।
भारतीय अधिकारीहरूले उनीहरूमाथि ‘मल तस्करी’ को आरोप लगाएर सोनवर्षा थाना पुर्याएका थिए। पछि उनीहरूलाई सीतामढीको डुमरास्थित कारागार चलान गरियो।
अदालतमा सिंह दाजुभाइका तर्फबाट डुमराका वकिल सञ्जयकुमार झा र किरण चौधरीले बहस गरेका थिए। वकिल झाले न्यायाधीशबाट जमानतको आदेश भएकाले बाँकी प्रक्रिया पूरा गरी उनीहरू जेलमुक्त भएका बताए।
वकिल झाका अनुसार बिहीबार दुवैको जमानत आदेशको कागजात जुनियर न्यायाधीशले लेखापढी गरेर डुमरा कारागार पठाइएको थियो। कारागारमा सिंह दाजुभाइले जमानतको आदेश कागजमा हस्ताक्षर गरेका थिए।
उक्त कागज पुनः अदालत लगेर त्यहाँबाट प्रक्रियालाई अन्तिम रूप दिँदै आफन्तको जग्गाजमिन धरौटी राखेर जमानतमा छाडिएको थियो। र त्यसै दिन साँझ उनीहरू जेलमुक्त भएका थिए।
सिंहका आफन्तहरू कारागार बाहिर उनीहरूको पर्खाइमा थिए।


