काठमाडौँ: प्रहरी महानिरीक्षक दानबहादुर कार्की(आईजीपी)ले समाजमा घटेका आपराधिक घटना प्रहरी सङ्गठनको ‘इन्स्टिच्युसनल मेमोरी’ मा रहेकाले त्यस्ता घटनामा संलग्न अपराधीलाई जुनसुकै बेला पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्।
उनले दशकौँपछि पनि त्यस्ता घटनामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही गर्दै आएको स्पष्ट पारे। राष्ट्रिय समाचार समितिसँग कुराकानीमा प्रहरी महानिरीक्षक कार्कीले लामो इतिहास बोकेको प्रहरी सङ्गठनले त्यस्ता घटनालाई नबिर्सने बताए।
‘व्यक्तिका स्मरण छोटो समयमा समाप्त हुन्छन्। तर प्रहरी व्यक्तिको न्यायका लागि अनवरत रूपमा लडिरहने संस्था हो। यो संस्थाले त्यस्ता घटनाहरू बिर्सन्न’, उनले भने। यद्यपि, त्यस्ता मुद्दामा चाहेजस्तो सफलता प्राप्त नभइरहेको महानिरीक्षक कार्कीको स्वीकारोक्ति थियो।
‘ती पुराना घटनाको अध्ययन र निरन्तरको अनुसन्धानबाट घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउने कार्य प्रहरी सङ्गठनले गर्दै आएको छ’, उनले भने। पुराना चर्चित घटनालाई विशेष टोली गठन गरेर अनुसन्धान गरिरहेको जानकारी दिँदै उहाँले त्यसबाट केही-केही घटनामा राम्रो सफलता मिलेको सुनाए।
प्रहरी महानिरीक्षक कार्कीले केन्द्रीय अनुसन्धान व्यूरोमार्फत पुराना जघन्य प्रकृतिका अपराधको अनुसन्धान चलिरहेको जानकारी दिए। उनले भने, ‘नयाँ र पुराना मुद्दालाई सँगसँगै अनुसन्धान गर्दै लगिरहेका छौँ।’