काठमाडौँः जेम्स स्कुल, धापाखेलको आयोजनामा सञ्चालित दुईदिने थन्डरबोल्ट्स कप पौडी प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा ८१ विद्यालयका ३४५ खेलाडीले सहभागिता जनाएका थिए। उनीहरूले विभिन्न १० उमेर समूहअन्तर्गत ७९ इभेन्ट्समा प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगितामा यू–१८ पुरुषतर्फ जेम्स स्कुलका कल्किन श्रेष्ठ र महिलातर्फ द ब्रिटिस स्कुलकी रोयल प्रजापति उत्कृष्ट खेलाडी घोषित भए।
त्यसैगरी, यू–१४ पुरुषतर्फ जेम्स स्कुलका मायोन श्रेष्ठ र महिलातर्फ सेन्ट मेरिज सेकेन्डरी स्कुलकी देभान्सी जोशी उत्कृष्ट खेलाडी बने।
यू–१२ पुरुषतर्फ निसर्ग वाटिका स्कुलका साहस शाक्य र महिलातर्फ प्राइम इन्टरनेसनल आईबी स्कुलकी इभाना श्रेष्ठ उत्कृष्ट घोषित भए।
यू–१० पुरुषतर्फ जेम्स स्कुलका चिराग महर्जन र महिलातर्फ युरो स्कुलकी बेट्टी श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए।
यसैगरी, यू–८ पुरुषतर्फ बृहस्पति विद्या सदनका केवत सिंह र कौतिक शर्मा संयुक्त रूपमा उत्कृष्ट खेलाडी बने। यू–८ महिलातर्फ युनिग्लोब सेकेन्डरी स्कुलकी भीदी गोयल उत्कृष्ट खेलाडी घोषित भइन्।


