काठमाडौँ: रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टर परिचालन भएको छ। बाढीबाट टिमुरे, स्याफ्रुबेँसीसहित नदी किनारका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको अनुमान गरिएको छ।
जिल्ला अस्पताल त्रिशूलीमा आवश्यक स्वास्थ्य सहायता उपलब्ध गराउन सेनाको इमर्जेन्सी मेडिकल रेस्क्यु टिम (ईएमआरटी) पनि एमआई–१७ हेलिकप्टरमार्फत प्रभावित क्षेत्रतर्फ पठाइएको छ। धुन्चे र त्रिशूलीस्थित ब्यारेकबाट थप उद्धार टोली परिचालन गरिएको सेनाले जनाएको छ। गजुरीस्थित नं. ६ बाहिनी अड्डाबाट विपद् व्यवस्थापनमा दक्ष जनशक्तिसमेत घटनास्थलतर्फ खटाइएको छ।
बाढीबाट रसुवा नाका क्षेत्र सबैभन्दा बढी प्रभावित भएको प्रारम्भिक विवरण छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार टिमुरेसहित दुई बजार क्षेत्रमा व्यापक क्षति पुगेको छ। भन्सार क्षेत्रमा रहेका ठूलो संख्याका सवारीसाधन तथा अन्य सामग्रीसमेत बाढीले बगाएको उनले बताएका छन्।
गत वर्षको बाढीपछि पुनर्निर्माण गरेर हालै सञ्चालनमा ल्याइएको पुलसमेत यसपटकको बाढीको चपेटामा परेको छ।
भोटेकोशीमा आएको बाढी क्रमशः नुवाकोट हुँदै धादिङतर्फ समेत पुगेको जनाइएको छ। त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।