काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले बाढी तथा विपद् प्रभावित क्षेत्रमा बिहीबार बिहानै ६:३० बजेदेखि उद्धारका लागि उडानहरू सुरु भइसकेको बताएका छन्। सामाजिक सञ्जालमार्फत् उनले अहिलेसम्म १५ भन्दा बढी उडानहरू भइसकेको बताएका छन्।
थप हेलिकोप्टरहरू उडानका लागि तयारी अवस्थामा राखिएको उनको भनाइ छ।
देशले अकल्पनीय रूपमा भोगिरहेको यस विपत्तिको घडीमा सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहतको कार्यमा जुटिरहेको उनले बताएाक छन्।
‘सिङ्गो देश, विश्वभरका नेपालीहरू र अन्तर्राष्ट्रिय समुदायसमेतको सहयोग र सहकार्यमा यस विपत्तिको घडीको मिलेर सामना गर्दैछौँ,’ उनले भनेका छन्, ‘आज बिहानै ६:३० बजेदेखि उद्धारका लागि उडानहरू सुरु भइसकेका छन्। अहिलेसम्म १५ भन्दा बढी उडानहरू भइसकेका छन् र थप हेलिकोप्टरहरू उडानका लागि तयारी अवस्थामा राखिएका छन्।’
हेलिकोप्टरमार्फत उद्धार गर्दा सिकिस्त, वृद्ध, महिला र बालबालिकालाई प्राथमिकता दिइने उनको भनाइ छ।
नेपाली सेनाले सञ्चालन गरेको उद्धार अभियानमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गरिएको प्रधानमन्त्री शाहले बताएका छन्। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। टनेलबाट समेत सात जना नेपाली नागरिकलाई सफलतापूर्वक उद्धार गरिएको छ।
‘अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पुर्याउने काम भइरहेको छ। प्रभावित स्थलहरूमा अत्यावश्यक सहयोग सामग्रीहरूसहित जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट, फलाम–ढुङ्गा काट्ने मेसिन आदि पुर्याइँदैछ,’ उनले भनेका छन्, ‘छिट्टै विपद् प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था हुनेछ, जसले सम्पर्क स्थापित गर्न सहयोग पुर्याउनेछ।’
नुवाकोटमा अस्थायी शिविर तयार गरिसकिएको र खाना तथा पानीको व्यवस्था गरिएको जानकारी उनले दिएका छन्।
ड्रोन सर्वेबाट सबै ठाउँको जानकारी सङ्कलन अन्तिम चरणमा पुगेको उनको भनाइ छ। यसले चुस्तदुरुस्त उद्धार तथा राहतका लागि सहयोग पुग्ने विश्वास उनले व्यक्त गरेका छन्।
‘सम्पूर्णमा धैर्य तथा संयम राखी उद्धार तथा राहतको प्रतीक्षा गर्नुहुन र यो विपद्को सामना गर्न अनुरोध गर्दछौँ। यथाशीघ्र उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित छन्,’ उनले लेखेका छन्, ‘आशा र विश्वासका साथ हामी सबै एक भएर यो विपद्को डटेर सामना गर्नुपर्नेछ। यस क्रममा हातेमालो गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।’