काठमाडौँ: छिमेकी चीनको केरुङ नजिक नयाँ अस्थायी ताल बनेको छ। पहिरोका कारण नदी थुनिएर नयाँ अस्थायी ताल बनेको हो।
नयाँ तालले दोस्रो चरणको ठूलो विपद्को जोखिम बढाएको छ। पहिरोले थुपारेको माटोबाट बनेको कमजोर बाँधका कारण नेपालमा जोखिम थप बढेको ग्लोबल टाइम्सले जनाएको छ।
चीनको जलस्रोत मन्त्रालयले नेपालमा छोचेन खोला र पुरेपु साङपो नदीको संगमस्थल नजिकै एउटा ठूलो ताल बनेको जनाएको छ। बिहीबार बिहानसम्म यस तालमा २० लाख घनमिटर पानी जम्मा भइसकेको र ताल भरिएर पानी बाहिर बग्न थालिसकेको बताइएको छ।
पछिल्लो ड्रोन फुटेजले पहिरो गएको ठाउँमा नयाँ ताल बनिरहेको देखाएको छ। आउँदो तीन दिनमा ३० लाख घनमिटर पानी तालमा जम्मा हुन सक्ने अनुमान गरिएको छ।
मन्त्रालयले तालको विकासलाई नजिकबाट निगरानी गरिरहेको छ र सम्भावित भत्कनको लागि तयारी गर्न र आपतकालीन उद्धार प्रयासहरूको लागि सहयोग प्रदान गर्न बाढी सिमुलेशन र विश्लेषणहरू गरिरहेको जनाएको छ।
चीन–नेपाल सीमाको नेपाली भूभागबाट सुरु भएको विनाशकारी पहिरोले दक्षिण पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित गिरोङ बन्दरगाहमा क्षति पुर्याएपछि चिनियाँ अधिकारीहरूले विभिन्न क्षेत्रमा उद्धार टोलीहरू परिचालन गरेका छन्।
कठिन भुबनोट, निरन्तर वर्षा र थप विपद्को बढ्दो जोखिमका बाबजुद उद्धारकर्मीहरूले काम गरिरहँदा आपतकालीन सेवा प्रदायक, जनमुक्ति सेना, इन्जिनियरिङ टोली, दूरसञ्चार सेवा प्रदायक र राहत संस्थाहरूले जनशक्ति, विमान, उपकरण तथा राहत सामग्रीहरू विपद्ग्रस्त क्षेत्रमा पुर्याइरहेका ग्लोबल टाइम्सले जनाएको छ।