काठमाडौँ: तिब्बतको केरुङ क्षेत्रमा पहिरोका कारण नदी थुनिएर बनेको ताल फुट्ने खतरा बढेपछि चीनले त्यहाँ जारी उद्धार कार्य तत्कालका लागि रोकेको छ।
तिब्बतमा गेग्रान र पहिरोले नदी थुनेर एउटा ठूलो अस्थायी ताल बनेको छ। उक्त तालको पानी ओभरफ्लो भएर उद्धार टोली जानुपर्ने क्षेत्रतर्फ बग्न थालेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। आगामी मंगलबारसम्म वर्षा जारी रहने र ताल फुट्ने जोखिम उच्च रहेकाले तल्लो तटीय क्षेत्र र केरुङ पोर्टमा थप क्षति हुन सक्ने डर छ।
नेपाल र तिब्बतको सीमा क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म नेपालमा ४६९ जनाको मृत्यु भएको छ भने एक हजार ३०० भन्दा बढी मानिस बेपत्ता छन्। बेपत्ता भएकाहरूमध्ये ५०० भन्दा बढी विदेशी नागरिक छन्। जसमा भारतका १७७, अमेरिकाका ९०, अष्ट्रेलियाका ३४, बेलायतका ३३ र क्यानडाका २५ जना रहेका छन्। तिब्बततर्फ पनि ५५८ जना बेपत्ता भएको बताइएको छ, जसमध्ये २६० जना विदेशी हुन्।
नेपाली सेनाले नुवाकोटस्थित त्रिशूली ३ए जलविद्युत आयोजनाको सुरुङभित्र फसेका मजदुरहरूको उद्धार गरिरहेको छ। करिब १०० जना सुरुङभित्र फसेको आशंका गरिएको छ। सेनाको हेलिकप्टरले हालसम्म ३५० भन्दा बढी कामदार र स्थानीयको उद्धार गरिसकेको छ। चितवनसम्म पनि बाढीले बगाएका शवहरू भेटिएका छन्।
विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रहरू अस्थिर बन्दै गएका छन्। जसले गर्दा यस्ता आकस्मिक बाढी र पहिरोका घटनाहरू बढिरहेका छन्।
बाढीले दर्जनौँ पुल र सडकहरू बगाएकाले उद्धार र राहत सामग्री पुर्याउन कठिनाइ भइरहेको छ। केरुङ क्षेत्रबाट ५०० भन्दा बढी विदेशी र चिनियाँ नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ।
चीन सरकारले तिब्बतमा भएको क्षतिको विस्तृत जानकारी भने अझै सार्वजनिक गरेको छैन। सरकारी सञ्चारमाध्यमले त्यहाँ अहिलेसम्म ३ जनाको मात्र मृत्यु भएको पुष्टि गरेका छन्, बेपत्ता हुनेको संख्या निकै ठूलो छ।