काठमाडौँ: भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका परिवारलाई केएल दुगड ग्रुपले खाद्यात्र सामग्री सहयोग गरेको छ। केएल दुगड ग्रुपले पहिलो चरणमा तत्काल रसुवा र नुवाकोटका बाढीबाट प्रभावित परिवारका लागि दुई ट्रक खाद्यान्न सामग्री राहत विदुरस्थित जिल्ला समन्वय समितिको कार्यालयमा हस्तान्तरण गरेको जनाएको छ।
उक्त सामग्री जिल्ला प्रशासन कार्यालयका प्रशासन अधिकृत होमनाथ दाहालको उपस्थितिमा हस्तान्तरण गरिएको छ।
राहत सामग्रीमा प्रभावित परिवारका लागि तत्काल आवश्यक चामल, दाल, नुन, गहुँको पिठो, खाने तेल , बिस्कुट, चिउरा, विभिन्न मसला लगायत दैनिक उपभोगका अत्यावश्यक खाद्य सामग्री समावेश गरिएको थियो। विपद्का कारण दैनिक जीवनयापनसमेत प्रभावित बनेका परिवारलाई तत्काल आवश्यक खाद्य सामग्री उपलब्ध गराई कठिन समयमा केही राहत पु¥याउने उद्देश्यले ग्रुपले उक्त सहयोग गरेको हो।
विपद्ले सिर्जना गरेको कठिन परिस्थितिमा खाद्यान्नजस्ता आधारभूत आवश्यकतासमेत प्रभावित परिवारका लागि चुनौतीपूर्ण बनेको अवस्थामा उनीहरूको दैनिकीमा केही सहजता ल्याउने उद्देश्यले राहत सामग्री उपलब्ध गराइएको केएल दुगड ग्रुपले जनाएको छ।
वर्षा र बाढीका कारण सडक सञ्जालमा पुगेको क्षति र बाटोको समस्याले गर्दा, ग्रुपले थप राहत सामग्रीहरू चरणबद्ध रूपमा प्रभावित क्षेत्रमा पुर्याउने जनाएको छ। संकटको समयमा प्रभावित परिवारसँगै उभिँदै मानवीय सहयोग प्रदान गर्नु आफ्नो सामाजिक उत्तरदायित्वको एक हिस्सा रहेको पनि ग्रुपले बताएको छ।
दुःख र पीडाको यस कठिन घडीमा प्रभावित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै केएल दुगड ग्रुपले यस्तो सहयोग तथा मानवीय सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ।