काठमाडौं। भोटेकोशी तथा त्रिशूली बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनीमार्फत खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिएको छ । नेपाली सेनाले सोमबार हवाई साधनमार्फत जर्मन नागरिक एक जनासहित १०९ जनाको उद्धार गरेको छ।
नेपाली सेनाले आज साँझ ७ बजेसम्मको खोज तथा उद्धार अद्यावधिक विवरण सार्वजनिक गर्दै प्रभावित क्षेत्रमा टनेलभित्र समेत विशेष टोली परिचालन गरी खोजी कार्य भइरहेको जनाएको छ।
त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको टनेलको हेड फेला पारिएको र कम्प्रेसरमार्फत हावा पठाउने कार्य भइरहेको छ। टनेलभित्रको पानी निकाल्ने कार्य जारी रहेको सेनाले जनाएको छ । साथै, तीनवटा एक्स्काभेटर प्रयोग गरी पछाडितर्फको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ।
त्यसैगरी, त्रिशूली–३ ‘बी’ को टनेलमा विज्ञसहितको फौज परिचालन गरी एक्स्काभेटरको सहयोगमा खोज तथा उद्धार कार्य भइरहेको छ।
विदेशी उद्धारकर्मीसमेत सहभागी संयुक्त खोज तथा उद्धार टोली चिलिमे हाइड्रोको टनेलभित्र ३५ मिटरसम्म पुगेर अगाडिको भाग सफा गर्ने कार्यमा जुटिरहेको छ। अपर त्रिशूली–१ क्षेत्रमा पनि विदेशी टोलीसहितको संयुक्त उद्धार टोलीले मैलुङतर्फ २०० मिटर र हाँकूतर्फ ३०० मिटरसम्म पुगेर खोजी गरेको छ।
रसुवागढी हाइड्रोको टनेलमा खोज तथा उद्धार टोली करिब २५० मिटरसम्म पुग्दा टनेलको बन्द भाग फेला परेको सेनाले जनाएको छ । लाङटाङ हाइड्रोको टनेलमा भने संयुक्त उद्धार टोली करिब ६५ मिटरसम्म पुगेर एक शव सङ्कलन गरेको छ।
प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला र बस्ती क्षेत्रमा स्थानीयको सुरक्षा अवस्था बुझ्न तथा थप उद्धारको आवश्यकता मूल्याङ्कन गर्न पैदल गस्तीसमेत गरिएको छ।
खोज तथा उद्धारका क्रममा नेपाली सेनाको टोलीले टिमुरे क्षेत्रमा पाँचवटा सेफ फेला पारेको जनाएको छ । तीमध्ये तीनवटामा नेपाली र दुईवटामा चिनियाँ भाषाका अक्षर रहेका छन् । फेला परेका सेफहरू भरपाई गरी सशस्त्र प्रहरी बल नेपाललाई बुझाइएको सेनाले जनाएको छ।
यसैबीच, नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्रबाट आइतबार मात्रै १६५ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार ९ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन्।
उनीहरूले सम्बन्धित निकायसँग समन्वय गरी घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन तथा आपत्कालीन उपचारलगायतका कार्य गरिरहेका छन् ।