रसुवा बाढीबाट प्रभावितका लागि विदेशी सहायता आउने क्रम जारी छ। चीन सरकारले उपलब्ध गराएको आपतकालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार नेपाल आइपुगेको छ।
चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई–२०ए ठूलो क्षमताको मालवाहक विमानमार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।
पहिचान प्रक्रियामा सहयोग गर्न चिनियाँ फरेन्सिक विज्ञहरूको टोली पनि आएको छ।
चीनले उपलब्ध गराएको राहत सामग्रीमा शव व्यवस्थापनका लागि फ्रिजर, महामारी रोकथाम तथा नियन्त्रणमा प्रयोग हुने सामग्री, दैनिक उपभोग्य वस्तु तथा विपद् प्रभावित क्षेत्रमा तत्काल आवश्यक अन्य सामग्री छन्।
यसपटकको राहत सामग्रीमा विपद् उद्धार, आवतजावत सहज बनाउन तथा पुनर्स्थापना लागि आवश्यक बेलीब्रिजसमेत समावेश गरिएको छ। चीनबाट पहिलो चरणमा उपलब्ध गराइने बेलीब्रिज जडानका लागि आवश्यक विशेष उपकरण भने स्थलमार्ग हुँदै लिजी–नेचुङ सीमा नाकासम्म आइपुगेको जनाइएको छ।
चौंथो खेपअन्तर्गत १० जना फरेन्सिक विज्ञ नेपाल आएका छन्। उनीहरूले नेपाली निकायसँग समन्वय गरी शवको पहिचान तथा आवश्यक फरेन्सिक प्रक्रियामा प्राविधिक सहयोग गर्नेछन्।
विमानस्थलमा आयोजित राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ तथा नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी थिए।
मन्त्री पुनले नेपाल आएका चिनियाँ फरेन्सिक विज्ञको टोलीलाई स्वागत गरे।














