काठमाडौँः भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री तथा मानव धर्मका प्रणेता सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि १० लाख नेपाली रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्।
गत भदौ १० गते रसुवास्थित भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीप्रति दुःख व्यक्त गर्दै महाराजले सुरुदेखि नै नेपाल र नेपाली जनताका पक्षमा सहयोग र ऐक्यबद्धता जनाउँदै आएका थिए। उनले सामाजिक सञ्जालमार्फत पनि विपद्को घडीमा नेपाललाई आवश्यक सहयोगका लागि उत्तराखण्ड र भारत तयार रहेको बताएका थिए।
यसअघि उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीको विशेष उपस्थितिमा बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो।
सोही ऐक्यबद्धतालाई व्यवहारमा उतार्दै पर्यटनमन्त्री महाराज शुक्रबार नयाँदिल्लीस्थित नेपाली राजदूतावास पुगेका थिए। उनले राजदूतावासका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापालाई भेटेर नेपाल सरकारको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुने गरी १० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन्।
विपद्को कठिन घडीमा प्राप्त भएको उक्त मानवीय सहयोगप्रति नेपाली पक्षले आभार व्यक्त गरेको छ।