काठमाडौँः पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा त्रिभुवन राजपथ (बाइरोड) हुँदै पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गरिरहेको जनाएको छ।
गत भदौ १४ गते त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा सडक भासिएपछि इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेटको आवागमन प्रभावित भएको थियो। त्यसपछि निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईस्थित उद्योगमा भरिएका ग्यास सिलिन्डर काठमाडौं उपत्यकामा भित्र्याउन थालेको हो।
निगमका अनुसार भदौ १८ गते करिब २४ हजार ५०० र भदौ १९ गते करिब ३४ हजार १३४ वटा एलपी ग्यास सिलिन्डर उपत्यकामा भित्र्याइएको छ। आपूर्ति प्रणालीलाई सहज र नियमित बनाउन सार्वजनिक बिदाका दिनमा समेत रिफिलिङ तथा ढुवानी सेवा सुचारु राख्न ग्यास उद्योगहरूलाई निर्देशन दिइएको निगमले जनाएको छ।
यसैबीच, भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा क्षति पुगेपछि जारी खोज तथा उद्धार कार्यका लागि निगमले हवाई इन्धन र एलपी ग्यास उपलब्ध गराइरहेको छ।
उद्धार कार्यमा खटिएका हेलिकप्टरका लागि नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट हालसम्म एक लाख २० हजार लिटर हवाई इन्धन रिफ्युलिङ गराइसकिएको छ।
त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोधमा रसुवा र नुवाकोटका अस्थायी आश्रयस्थलमा ५७५ थान एलपी ग्यास सिलिन्डर पठाइएको निगमले जनाएको छ।