काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० दलीय गठबन्धन र सरकार पाँच वर्षसम्मै टिक्ने भविष्यवाणी गरेका छन्। सोमबार गजुरी–१ स्थित आदर्श बहुमुखी क्याम्पसको भवन उद्घाटन गर्न धादिङ आएका प्रधानमन्त्री प्रचण्डले पाँच वर्षसम्म गठबन्धन टिक्ने बताएका हुन्।
उनले भने, ‘अहिले कता–कता यो सरकारको आयु कति भनेर मिडियामा हुने÷नहुने चर्चा चल्न थालेका छन्। पाँच वर्षसम्म यो गठबन्धन केही हुँदैन। लगातारका गठबन्धन बैठक र प्रतिपक्षीसँगका बैठकका आधारमा पनि के भन्न सक्छु भने पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन।’
प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण ऐतिहासिक भएको दाबी गरे। ‘१० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने सहमति, भारत बंगलादेश र नेपालबीच विद्युत व्यापार गर्ने सहमति, सीमा समस्या समाधान गर्ने नरेन्द्र मोदीजीको कमिटमेन्ट र अन्य थुप्रै विकास परियोजनाहरु महत्वपूर्ण भएका छन्, मलाई गर्व छ,’ उनले भने।
जनतालाई सेवासुविधा दिने, भ्रष्टाचार नियन्त्रण गर्ने, विकास निर्माणलाई गति दिने र अर्थतन्त्रमा देखिएको दबाब कम गर्ने कुरामा आफ्नो ध्यान रहेको उनले बताए।


