काठमाडौं– संवैधानिक परिषद्बाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि सिफारिसमा परेका तत्कालीन कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएका जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले राजीनामा दिएका छन्।
जिल्ला न्यायाधीश भट्टराईसहितले हरिकृष्ण राजनीतिक पार्टीका कार्यकर्ता भएकाले सर्वोच्चमा प्रधानन्यायाधीशका योग्य नभएको दाबीसहित संसदीय सुनुवाइ समितिमा उजुरी दिएका थिए। संसदीय समितिले हरिकृष्णलाई प्रधानन्यायाधीशका लागि उपयुक्त ठानेपछि उनले राष्ट्रपतिबाट सपथ लिएर सर्वोच्च हाँकिरहेका छन्।
भट्टराईले प्रधानन्यायाधीश हरिकृष्णविरुद्ध उजुरी गरेकाले नैतिक रूपमा आफू मातहत बस्न नमिल्ने जनाएर सोमबार राजीनामा बुझाएका हुन्। उनले भनेका छन्, ‘म बहालवाला न्यायाधीशले सुनुवाइ समितिमा उजुरी हाल्दा कारण पनि खुलाएको छु। ती कुरामा समिति निष्पक्ष हुन्थ्यो भने उहाँ नियुक्त हुने अवस्था हुँदैनथ्यो,’ उनले भने, ‘यो एउटा सुधारको पाइला हुन्थ्यो। जसलाई मैले अयोग्य भनेर उजुरी गरें, उहाँकै मातहतमा मैले असहज महसुस गरें।’
उनले प्रधानन्यायाधीशमा कार्की नियुक्त भएपछि आफूले धेरै सोचविचारेको पनि बताए। तर न्यायालय सुध्रिने लक्षण नदेखिएपछि आफूले राजीनामा दिने निष्कर्षमा पुगेको उनले बताएका छन्। बाहिरै बसेर न्यायालय सुधारका लागि काम गर्ने प्रतिबद्धता उनले जनाएका छन्।


