काठमाडौँ- नेपाली कांग्रेसले अनलाइनबाट सदस्यता वितरण सुरु गरेको छ। कांग्रेसले अनलाइनबाट साधारण सदस्यता वितरण गर्न थालेको हो।
कांग्रेसको सदस्यता लिन वेबसाइटमा गएर फारम भर्नुपर्ने हुन्छ। सदस्यता लिने फारममा जन्ममिति, इमेल आईडी, मोबाइल नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर, ठेगाना, ब्लड ग्रुप, भाषा, पेसालगायतको विवरण भर्नुपर्ने हुन्छ। सदस्यता प्राप्त गर्नका लागि २० रुपैयाँ तोकिएको छ। आवेदन शुल्क भुक्तानी गर्न क्युआर कोड स्कानको व्यवस्था गरिएको छ।
रकम भुक्तानी गरेपछि अनलाइनबाट नै आवेदन स्वीकृत गरिने र त्यसको निस्सा आवेदकलाई उपलब्ध गराइने व्यवस्था गरिएको छ। यसरी सदस्यता स्वीकृत भएको प्रमाणलाई आवेदकले आफैँ प्रिन्ट गर्न सक्छन्।
कांग्रेस विधानमा साधारण सदस्यता लिएको एक वर्षपछि क्रियाशील सदस्यता दिन सकिने उल्लेख छ। क्रियाशील सदस्यताका लागि भने भौतिक विवरण नै बुझाउनुपर्ने व्यवस्था यथावत छ।
यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एमालेलगायतका दलले पनि अनलाइन सदस्यता वितरणको काम थालिसकेका छन्।


