पोखराका सरकारी संरचना : भग्नावशेष उस्तै, काम–सेवा अन्तैबाट (तस्बिर)
पोखरा, २४ भदौ
गत वर्ष भदौ २४ मा जेन–जी आन्दोलनको क्रममा क्षतिग्रस्त पोखराका सरकारी भवन, सरकारी आवास अझै पुनःर्निर्माण हुन सकेका छैनन् । भौतिक हिसाबले सिंहदरबार, संघीय कार्यालय रहेको उपत्यकापछि सबैभन्दा बढी क्षतिग्रस्त सहर बनेका पोखराका धेरै भवन अझै भग्नावशेष नै छन् ।
गण्डकी प्रदेश सभा भवन, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र मन्त्रालयहरू, प्रदेश प्रमुखको कार्यालय र आवास, मन्त्री आवास, पोखरा महानगरपालिकाको भवन र वडा कार्यालयका भवन, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, शिक्षा कार्यालयसहित कास्कीस्थित दर्जनौँ संघीय सरकारका कार्यालयमा पनि प्रदर्शनकारीले आगजनी गरेका थिए ।
सामान्य मर्मतसम्भार र सरसफाइपछि मुख्यमन्त्री कार्यालय र मन्त्रालयका भवन प्रयोगमा छन् । मन्त्री आवास भने पुनःर्निर्माण हुन सकेका छैनन् । संसद् भवन भने प्रयोगमा ल्याउन नमिल्ने गरेर क्षतिग्रस्त भएको र अर्को नयाँ भवन बनिरहेकाले संसद वैकल्पिक ठाउँमा चलेको छ । पोखरा महानगरपालिकाले पनि नयाँबजारमा राष्ट्रिय वाणिज्य बैंकको भवन भाडामा लिएर सेवा सञ्चालन गरिरहेको छ ।
प्रदर्शनकारीले मन्त्री, सांसदका घर र व्यावसायिक संरचनामा पनि आगजनी गरेका थिए । निजी घर, होटेल पुनर्निर्माण गरेर पुरानै अवस्थामा फर्किएका छन् भने कतिपय अझै पुनर्निर्माणकै चरण्मा छन् ।
तस्बिरमा हेर्नुहोस्, जेनजी आन्दोलनमा आगजनी भएका पोखराका सरकारी भवनको एक वर्षपछिको अवस्था :

















