काठमाडौँ: आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राकृतिक विपत्तिका कारण देशका विभिन्न भाग प्रभावित भइरहे पनि दीर्घकालीन पूर्वाधार निर्माणको काम रोक्न नहुने बताएका छन्। कैलालीको चिसापानीमा निर्माण भैरहेको जालपादेवी केबलकार आयोजनाको तल्लो स्टेसनको निरीक्षणपछि उनले यस्तो बताएका हुन्।
उनले भनेका छन्, ‘आज जब देशका विभिन्न भागहरू प्राकृतिक विपत्तिबाट जुधिरहेका छन्, त्यही बेला यस्ता दीर्घकालीन पूर्वाधार निर्माणले हामीलाई सम्झाउँछन् कि नेपालको यात्रा रोकिनु हुँदैन। हामी दुःखमा उभिन्छौँ, माया साट्छौँ, र त्यही सहनशीलताका साथ भविष्य निर्माणमा पनि लाग्छौँ।’

ढकालले जालपादेवी केबलकार आयोजनालाई सुदूरपश्चिममा निजी क्षेत्रबाट भएको ठूलो लगानीका रूपमा व्याख्या गर्दै यो केवल लगानीको विषय नभई सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलाई सांस्कृतिक तथा आर्थिक रूपमा जोड्ने सम्भावनासँग सम्बन्धित रहेको बताए।
केबलकार सञ्चालनमा आएपछि सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्नेछ। यस्ता पर्यटन तथा पूर्वाधार आयोजना कर्णाली, सुदूरपश्चिमलगायत देशका सातै प्रदेशमा विस्तार गर्न सके पर्यटकको नेपाल बसाइ लम्ब्याउन सहयोग पुग्ने उनको भनाइ छ।
उनले भनेका छन्–
आज मनमा दुई किसिमका भावना बोकेर लेखिरहेको छु। एकातिर प्रकृतिले दिएको पीडा र अर्कोतिर त्यही धर्तीमा उभिएको आशाको संरचना।
केही दिनअघि रसुवामा आएको बाढीले धेरैको घरपरिवार र सपना बगायो। त्यो पीडामा म पूरै नेपालसँगै उभिएको छु।
यसैबीच आज सुदूरपश्चिम प्रदेशको कैलालीस्थित जालपादेवी केबलकार आयोजनाको तल्लो स्टेसन पुग्दा मनमा एक किसिमको आशा पनि जागृत भयो। प्रकृतिले कहिलेकाहीँ परीक्षा लिन्छ, तर त्यही प्रकृतिकै काखमा हामीले सिर्जना गरेको यो संरचना, यो प्रयास, नेपालको भविष्यप्रतिको हाम्रो अटुट विश्वासको प्रतीक बन्छ।
यो आयोजना सुदूरपश्चिममा सम्भवतः निजी क्षेत्रबाट भएको सबैभन्दा ठूलो लगानी हो। तर मेरो लागि यो केवल लगानीको आँकडा मात्र होइन, यो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलाई जोड्ने एउटा सांस्कृतिक र आर्थिक सङ्गमको सपना हो। एउटा यस्तो सङ्गम जसले भूगोलका सीमाहरू मेटेर समृद्धिको साझा बाटो कोर्नेछ।
आज जब देशका विभिन्न भागहरू प्राकृतिक विपत्तिबाट जुधिरहेका छन्, त्यही बेला यस्ता दीर्घकालीन पूर्वाधार निर्माणले हामीलाई सम्झाउँछन् कि नेपालको यात्रा रोकिनु हुँदैन। हामी दुःखमा उभिन्छौं, माया साट्छौं, र त्यही सहनशीलताका साथ भविष्य निर्माणमा पनि लाग्छौं।
जालपादेवी केबलकार चाँडै सञ्चालनमा आउनेछ। यस्ता संरचना र पर्यटन पूर्वाधारहरूलाई कर्णाली, सुदूरपश्चिमसँगै नेपालका सातै प्रदेशमा विस्तार गर्न सकियो भने यसले अहिलेको पर्यटकको बसाई दोब्बर बनाउन पक्कै पनि सहयोगी भूमिका खेल्नेछ। यो आयोजना नेपाली पर्यटकका लागि मात्र नभई सीमापारिका भारतीय पर्यटकहरूका लागि समेत एउटा नयाँ आकर्षणको केन्द्र बन्ने विश्वास छ।
बाढीपीडित सम्पूर्ण परिवारप्रति सम्वेदना व्यक्त गर्दै, पुनर्निर्माणमा जुटेका सबैलाई हार्दिक धन्यवाद।
