काठमाडौं। निजी क्षेत्रबाट निर्माण हुन लागेको कालिका कालिगण्डकी अर्धजलासय (पीआरओआर) जलविद्युत आयोजनाको जडित क्षमता बढेको छ।
विकासकर्ता मौलाकालिका हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाको क्षमता बढाएर ४७.७ मेगावाट पुर्याएको छ। यसअघि ३८.१६ मेगावाट बिजुली उत्पादन हुने गरी आयोजनाको डिजाइन गरिएको थियो। आयोजनाको डिजाइन परिवर्तन भएको छ।
जडित क्षमता बढेपछि विकासकर्ता मौलाकालिका हाइड्रोपावरले आयोजनाको पुरक वातावरणिय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेको छ। पिकका लागि आयोजनको ग्रस हेड बढेर १९.७४ मिटर पुगेको छ। यसअघि १९.२ मिटर थियो। यस्तै वन क्षेत्र बढेर ३४.२२ हेक्टर पुगेको छ। यसअघि ३२.९ हेक्टर मात्र थियो।
यसअघि आयोजनाबाट २२ करोड ३६ लाख युनिट बिजुली उत्पादन हुने अनुमान गरिएकोमा बढेको छ। यस्तै आयोजनाको अनुमानित लागत ८ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो। लागत पनि बढ्ने भएको छ। कम्पनीले लागत खुलाएको छैन्।
नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भइसकेको छ। अब थप नौ मेगावाटको पीपीए हुन बाँकी छ।विद्युत विकास विभागले मौलाकालिकालाई विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिइसकेको छ।
आयोजना तनहुँको देवघाट गाउँपालिका र नवलपुरको गौंडाकोट नगरपालिकामा रहेको कालिगण्डकीको पानीलाई उपयोग गरी आंशिक जलासयमा आधारित आयोजना हो।
आयोजनाको संरचना देवघाट गाउँपालिकाको १, ४ र ५ नम्बर र नवलपुरको ३ मा र विद्युतगृह कालिगण्डकी नदीको बाँया किनारमा रहनेछ।
नदीको पानी फर्काउन नदीमा १०६ मिटर लम्बाइ भएको र १७ मिटर उचाइ भएको व्यारेज निर्माणको प्रस्ताव गरिएको छ।
आयोजनाले दैनिक २ करोड ४१ लाख ६३ हजार ७ सय ८६ घनमिटर पानी भण्डारण गरी ४ घण्टा अधिकतम पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने कम्पनीले जनाएको छ। आयोजनाबाट सुक्खायाममा पनि दैनिक चार घण्टा पूर्ण क्षमतामा बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ।
आयोजनाबाट उत्पादन हुने बिजुली १० कलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत विद्युत प्राधिकरणको न्यू भरतपुर सबस्टेशनमा जोडिने भएको छ।