काठमाडौँः घरजग्गा किन्ने योजना बनाएका ग्राहकलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाले कम ब्याजदरका विभिन्न कर्जा योजना सार्वजनिक गरेका छन्। काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको घरजग्गा मेलामा सहभागी बैंक तथा वित्तीय संस्थाले ५.४४ प्रतिशतदेखि स्थिर ब्याजदरमा घरजग्गा कर्जा दिने योजना ल्याएका हुन्।
नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास संघले आयोजना गरेको मेलामा पाँच वाणिज्य बैंक, तीन विकास बैंक र एक फाइनान्स कम्पनी सहभागी छन्। बैंकहरूले मेलामै स्टल राखेर घरजग्गा कर्जाका विभिन्न योजना तथा ब्याजदरबारे ग्राहकलाई जानकारी दिइरहेका छन्।
मेलामा प्रभु, स्ट्यान्डर्ड चार्टर्ड, सिटिजन्स, लक्ष्मी सनराइज र सिद्धार्थ बैंक तथा महालक्ष्मी, मुक्तिनाथ र गरिमा विकास बैंक सहभागी छन्। यस्तै, गोर्खाज फाइनान्सले पनि कर्जा योजना सार्वजनिक गरेको छ।
५.४४ प्रतिशतदेखि कर्जा
मेलामा सबैभन्दा कम ब्याजदरको योजना प्रभु बैंकले ल्याएको छ। बैंकले ५.४४ प्रतिशत ब्याजदरमा घर कर्जा दिने योजना सार्वजनिक गरेको हो।
लक्ष्मी सनराइज बैंकले पनि मेलालाई लक्षित गर्दै ५.४९ प्रतिशत ब्याजदरमा घर कर्जा दिने योजना ल्याएको छ। बैंकका अनुसार यो योजनामा ग्राहकले घरजग्गाको मूल्यांकनको ८० प्रतिशतसम्म कर्जा पाउन सक्छन्। कर्जाको अवधि २० वर्षसम्म रहेको छ।
यस्तै, स्ट्यान्डर्ड चार्टर्ड, सिटिजन्स र सिद्धार्थ बैंकले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा दिने योजना ल्याएका छन्।
स्ट्यान्डर्ड चार्टर्डले ७ वर्ष अवधिका लागि ५.९९ प्रतिशत स्थिर ब्याजदरको योजना ल्याएको हो। सिटिजन्स बैंकको योजनामा पनि पाँच वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदर कायम रहनेछ। त्यसपछि ग्राहकले बाँकी अवधिका लागि परिवर्तनीय ब्याजदरमा जान सक्ने बैंकका प्रतिनिधिले बताएका छन्।
सिद्धार्थ बैंकले भने ७ वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरको योजना ल्याएको छ। बैंकले ७ देखि १० वर्ष अवधिका लागि ८.४९ प्रतिशत र १० वर्षभन्दा बढी अवधिका लागि ९ प्रतिशत स्थिर ब्याजदरको विकल्पसमेत दिएको छ।
विकास बैंकका पनि छुट्टाछुट्टै योजना
घरजग्गा मेलालाई लक्षित गर्दै विकास बैंकहरूले पनि कर्जा योजना ल्याएका छन्।
गरिमा विकास बैंकले ६.२३ प्रतिशत ब्याजदरमा घरजग्गा कर्जा दिने भएको छ। मुक्तिनाथ विकास बैंकले भने आफ्नो बेसरेटमा ०.२५ प्रतिशत प्रिमियम थपेर घरजग्गा कर्जा दिने योजना ल्याएको छ।
महालक्ष्मी विकास बैंकले साधारण घरजग्गा कर्जामा ७ वर्षसम्म ६.९९ प्रतिशत स्थिर ब्याजदर तोकेको छ। वातावरणमैत्री घर निर्माण वा खरिद गर्न चाहने ग्राहकका लागि भने बैंकले ‘ग्रीन होम लोन’मा ६.४९ प्रतिशत स्थिर ब्याजदरको योजना ल्याएको छ।
महालक्ष्मी विकास बैंककी ब्रान्च म्यानेजर सोफिया धितालका अनुसार बैंकले यसपटक वातावरणमैत्री घर निर्माण तथा खरिदलाई प्राथमिकता दिएको छ। ‘हामी विशेषगरी ग्रीन होम लोनमा फोकस छौं,’ धितालले भनिन्।
बैंकमा पैसा थुप्रिएपछि ब्याजदर घट्दो
बैंक तथा वित्तीय संस्थाले घरजग्गा मेलामा कम ब्याजदरका योजना ल्याउनुको एउटा कारण बैंकिङ प्रणालीमा रहेको उच्च तरलता पनि हो।
हाल बैंकिङ प्रणालीमा १४ खर्ब रुपैयाँ भन्दा बढी तरलता रहेको छ। तर बैंकमा पैसा पर्याप्त भए पनि कर्जाको माग अपेक्षाकृत सुस्त छ। यही कारण वाणिज्य बैंकहरूको औसत बेसरेट करिब ४.८३ प्रतिशतमा झरेको छ।
परिवर्तनीय ब्याजदरमा कर्जा लिने ग्राहकका लागि कतिपय बैंकले बेसरेटमा थोरै प्रिमियम थपेर घरजग्गा कर्जा उपलब्ध गराइरहेका छन्।
प्रभु बैंकको बेसरेट ४.९४ प्रतिशत रहेकोमा बैंकले त्यसमा ०.५० प्रतिशत प्रिमियम थपेर घरजग्गा कर्जा दिइरहेको छ। बैंकले २५ वर्षसम्मको अवधिका लागि घर कर्जा दिने जनाएको छ। स्थिर ब्याजदर रोज्ने ग्राहकका लागि भने २५ वर्ष अवधिमा चुक्ता गर्ने विकल्पमा ब्याजदर साढे ८ प्रतिशत रहेको बैंकले जनाएको छ।
पहिलो घर खरिद गर्नेलाई ८० प्रतिशतसम्म कर्जा
नियामकीय व्यवस्थाअनुसार पहिलोपटक घर खरिद गर्ने ग्राहकले घरजग्गाको मूल्यांकनको ८० प्रतिशतसम्म कर्जा पाउन सक्छन्। यही व्यवस्थालाई आधार बनाएर बैंकहरूले मेलामा ग्राहकलाई घर कर्जाका विभिन्न विकल्पबारे जानकारी दिइरहेका छन्।
मेलामा बैंकको स्टलमा ब्याजदर, कर्जा अवधि, डाउनपेमेन्ट र मासिक किस्ताबारे बुझ्न आउने ग्राहकको संख्या पनि बढेको बैंकका प्रतिनिधिहरू बताउँछन्।
प्रभु बैंकका असिस्टेन्ट रिलेसनसिप म्यानेजर प्रताप नारायण श्रेष्ठका अनुसार चाडपर्व नजिकिँदै जाँदा घरजग्गा खरिदका लागि ग्राहकको चासो बढेको देखिएको छ। ‘उपस्थिति राम्रो छ। चाडपर्व पनि नजिकिएकाले नयाँ घरजग्गा खरिद गर्न ग्राहकहरू पोजेटिभ देखिनुभएको छ,’ श्रेष्ठले भने।
स्ट्यान्डर्ड चार्टर्ड बैंकका अधिकारीले पनि मेलाको पहिलो दिन नै ग्राहकको उपस्थिति सन्तोषजनक रहेको बताए। ‘आज पहिलो दिन हो। अहिलेसम्म हेर्दा राम्रै चहलपहल देखिन्छ। गत वर्षको तुलनामा ग्राहकहरू अझ राम्रो आउनुहुन्छ भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने।
यसरी हेर्दा मेलामा सहभागी बैंक तथा वित्तीय संस्थाले स्थिर ब्याजदर, कम प्रिमियम र लामो कर्जा अवधिलाई मुख्य आकर्षण बनाएका छन्। घरजग्गा खरिद गर्न चाहने ग्राहकले भने ब्याजदर मात्र नभई कर्जाको अवधि, पछि परिवर्तन हुने ब्याजदर, सेवा शुल्क र अन्य सर्तसमेत तुलना गरेर निर्णय गर्नुपर्ने हुन्छ।


