काठमाडौं। जलविद्युत र सौर्य ऊर्जामा लगानी गरिरहेको अपी पावर कम्पनी लिमिटेडले सहायक कम्पनीमार्फत रियल इस्टेट व्यवसायमा आफ्नो उपस्थित फराकिलो बनाउँदै लगेको छ।
सहायक कम्पनी अपी इन्फ्रा लिमिटेडले हाल ललितपुरको झम्सिखेलमा १० तलाको लक्जरी अपार्टमेन्ट बनाइरहेको छ।
अपी इन्फ्रा फेज वान नाम दिइएको अपार्टमेन्टको अनुमानित लागत एक अर्ब २७ करोड ७० लाख रुपैयाँ रहेको छ। अपार्टमेन्टमा ६० प्रतिशत बैंकको ऋण र बाँकी ४० प्रतिशत संस्थापकहरुको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ।
ललितपुरको झम्सिखेल र बानेश्वरमा निर्माण भइरहेका तथा निर्माण सम्पन्न हुने चरणमा रहेका अपार्टमेन्टबारे कम्पनीले घरजग्गा मेलामार्फत ग्राहकलाई जानकारी दिइरहेको छ।
अपि इन्फ्राको झम्सिखेल परियोजनाको निर्माण सम्पन्न भएको छ। अहिले फिनिसिङ र ह्यान्डओभरको तयारी भइरहेको कम्पनीले जनाएको छ। आगामी दशैंमा ग्राहकलाई अपार्टमेन्ट हस्तान्तरण गर्ने तयारी कम्पनीको छ।
घरजग्गा मेलामा अपी इन्फ्राको विशेष अफर, फुल फर्निस्ड अपार्टमेन्टदेखि निःशुल्क पार्किङसम्म
प्रतिवर्गफिट २८ हजार ५०० रुपैयाँका दरले उपलब्ध गराइएको झम्सिखेल अपार्टमेन्टमा १, २ र ३ बीएचकेका विभिन्न युनिट छन्। कम्पनीका अनुसार १ बीएचकेको मूल्य २ करोड ९० लाख रुपैयाँबाट सुरु हुन्छ भने युनिटअनुसार २ बीएचकेको मूल्य ३ करोड ९८ लाख रुपैयाँसम्म र ३ बीएचकेको मूल्य ५ करोड रुपैयाँसम्म छ।
ग्राहकलाई आकर्षित गर्न कम्पनीले फुल फर्निस्ड अपार्टमेन्टको सुविधा पनि उपलब्ध गराएको छ। सोफा, टेलिभिजनलगायत आवश्यक फर्निचर तथा सामग्रीसहितको प्याकेजका साथै करिब १५ लाख रुपैयाँ मूल्य पर्ने पार्किङ सुविधा निःशुल्क उपलब्ध गराउने अफरसमेत कम्पनीले अघि सारेको छ।
अपि इन्फ्राका प्रतिनिधिले भने ,‘झम्सिखेलको परियोजना लगभग सम्पन्न भइसकेको छ। ग्राहकले दशैंमै आफ्नो अपार्टमेन्ट पाउने गरी हामीले तयारी गरिरहेका छौँ। अहिले मेलामा विशेष अफरसहित ग्राहकलाई परियोजनाबारे जानकारी दिइरहेका छौँ।’
त्यस्तै, अपि इन्फ्राको बानेश्वरस्थित अर्को अपार्टमेन्ट परियोजना पनि मेलामा ग्राहकको आकर्षणमा परेको छ। निर्माणाधीन अवस्थामा रहेको उक्त परियोजना आगामी करिब २.५ वर्षभित्र हस्तान्तरण गर्ने लक्ष्य कम्पनीले राखेको छ।
अपी पावर जलविद्युतबाट रियल इस्टेटमा, सवा अर्बमा झम्सिखेलमा १० तले अपार्टमेन्ट बनाउँदै
बानेश्वर परियोजनामा प्रि–बुकिङ खुला भइसकेको छ। सीमित संख्यामा युनिट उपलब्ध रहेको कम्पनीले जनाएको छ। युनिटअनुसार पार्किङ तथा अन्य सुविधा फरक हुन सक्ने भएकाले मेलामै ग्राहकलाई परियोजनाको प्याकेज र बुकिङ प्रक्रियाबारे विस्तृत जानकारी दिइरहेको कम्पनीको भनाइ छ।
अपार्टमेन्ट खरिद गर्न चाहने ग्राहकले १ लाख रुपैयाँमा टोकन वा प्रि–बुकिङ गर्न सक्ने व्यवस्था गरिएको छ। त्यस्तै, कुमारी बैंकसँगको सहकार्यमा सहज ऋण सुविधा उपलब्ध गराइएको कम्पनीको भनाइ छ। खरिदकर्ताले अपार्टमेन्टलाई बैंकिङ प्रयोजनमा कोल्याटरलका रूपमा समेत प्रयोग गर्न सक्नेछन्।
‘बानेश्वरको परियोजना पनि अहिले प्रि–बुकिङका लागि खुला छ। ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार युनिट छनोट गर्न सक्नेछन्।
अपार्टमेन्ट आगामी सन् २०२७ को मध्य जुनमा सम्पन्न गर्ने लक्ष्य रहेको छ। अपार्टमेन्ट एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको अपी इन्फ्राका अध्यक्ष सतिश न्यौपानेले बताए।
पहिलो फेजमा निर्माणाधीन ४३ युनिट छ। एक बेड, हल र किचन भएको एक युनिट, दुई बेड, हल र किचेन भएको २७ र तीन बेड, हल र किचेनसहितको १५ युनिट रहेको कम्पनीले जनाएको छ।
अपार्टमेन्टमा शिक्षण संस्था, अस्पताल, बैंक, एटीएम, सपिङ मल, खुद्रा पसल, सुविधाजनक पहुँच हुनेछ। अपार्टमेन्टमा समुदायिक बैठक हल, फिटनेस सेन्टर, निगरानी सहितको सीसी टिभी सुरक्षा, पानी प्रशोधन प्लान्ट, भरपर्दो बिजुली आपूर्ति, ढल प्रशोधन सुविधा, सबै एकाइहरूमा स्मार्ट सुविधा र विद्युतीय सवारी साधन चार्जिङ स्टेशनसहित आधुनिक सुविधाहरू प्रदान गर्ने कम्पनीले जनाएको छ।
यसैगरी राजधानीको नयाँ बानेश्वरमा टावर बनाउन ४२ करोड ६० लाख रुपैयाँ लाग्ने भएको छ। टावरमा ३४ प्रतिशत ऋण र ६६ प्रतिशत इक्विटी हुने गरी लगानी संरचना बनाइएको छ।
टावर बनेपछि कर्पोरेट अफिसहरुलाई भाडामा दिने लक्ष्य अपी इन्फ्राको छ। जग्गा खरिद गरेर अहिले भवन निर्माण गरिरहेको छ। टावरको काम आगामी एक वर्ष अर्थात सन् २०२७ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य छ। अपी इन्फ्रा सन् २०२४ मा स्थापना भएको हो।


