काठमाडौँः सिद्धार्थ बैंकले आफ्नो २५औँ वार्षिक साधारणसभा असोज २८ गते आयोजना गर्ने भएको छ । बैंक सञ्चालक समितिको असोज ५ गते बसेको बैठकले साधारणसभा बोलाउने निर्णय गरेको हो ।
साधारणसभाबाट बैंकले सेयरधनीलाई प्रस्ताव गरेको कुल २० प्रतिशत लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गर्ने तयारी गरेको छ । जसअनुसार हाल कायम चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँको १० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव छ ।
लाभांश प्राप्त गर्न चाहने लगानीकर्ताका लागि भने असोज १५ गते महत्वपूर्ण हुने भएको छ । बैंकले साधारणसभा तथा लाभांश प्रयोजनका लागि असोज १६ गते एक दिन सेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ । त्यसैले असोज १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्नुका साथै साधारणसभामा सहभागी हुन पाउनेछन् ।
साधारणसभामा बैंकको गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सिद्धार्थ क्यापिटल लिमिटेडसहितको एकीकृत वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्तावसमेत रहेको छ ।
यस्तै, बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयरका सेयरधनीलाई ८.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेश गर्नेछ ।
बैंकले चालु आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारणसभामा लैजाने भएको छ ।
त्यसैगरी, बोनस सेयर वितरणपछि कायम हुने नयाँ पुँजी संरचनाअनुसार बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । नियमनकारी निकायको निर्देशनअनुसार आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा सामाजिक उत्तरदायित्वअन्तर्गत भएको खर्च अनुमोदन गर्ने प्रस्तावसमेत साधारणसभामा राखिने बैंकले जनाएको छ ।


