पर्वत: पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से बस्तीमा कालीगण्डकी नदीको बाढी पस्दा करिब ८० घर बगेका छन्।
बुधबार रातिदेखि नै नदीको बाढी बस्तीमा पस्न थालेपछि स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ सरेका थिए। घटनामा मानवीय क्षति भए–नभएको भने अझै यकिन हुन सकेको छैन।
बस्तीका अन्य घरसमेत उच्च जोखिममा रहेको जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण पर्वत र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। टोलीले स्थानीयका जिन्सी सामानसमेत सुरक्षित स्थानमा सारेको प्रहरीले जनाएको छ।
बाढीका कारण उक्त क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ भने फोन सम्पर्कमा समेत समस्या आएको जनाइएको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।


