काठमाडौँः नेपाल लेखामान बोर्डले वित्तीय विवरणमा आम्दानी र खर्च प्रस्तुत गर्ने तरिकामा परिवर्तन गर्ने उद्देश्यसहित एनएफआरएस १८ को मस्यौदा सार्वजनिक गरेको छ।
बोर्डले ‘एनएफआरएस १८: प्रेजेन्टेसन एन्ड डिस्क्लोजर इन फाइनान्सियल स्टेटमेन्ट्स’ सम्बन्धी मस्यौदामाथि सरोकारवालाबाट सुझाव तथा प्रतिक्रिया मागेको हो।
प्रस्तावित व्यवस्था लागू भएपछि बैंक तथा वित्तीय संस्थासहित विभिन्न कम्पनीको नाफा–नोक्सान विवरण अहिलेको भन्दा फरक ढाँचामा प्रस्तुत हुनेछ। आम्दानी तथा खर्चलाई मुख्यतः अपरेटिङ, इन्भेस्टिङ र फाइनान्सिङ लगायतका वर्गमा छुट्याएर देखाउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
एनएफआरएस १८ को मुख्य उद्देश्य कम्पनीको वित्तीय कार्यसम्पादनलाई अझ स्पष्ट, व्यवस्थित र विभिन्न कम्पनीबीच तुलना गर्न सकिने बनाउनु रहेको बोर्डले जनाएको छ।
बैंकको नाफा प्रस्तुतिमा पर्न सक्छ प्रभाव
एनएफआरएस १८ को प्रस्तावित व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको नाफा प्रस्तुत गर्ने तरिकामा समेत प्रभाव पार्ने देखिएको छ। बैंकले विभिन्न वित्तीय उपकरणमा गरेको लगानीबाट प्राप्त आम्दानीलाई बैंकको मुख्य व्यवसायसँग सम्बन्धित आम्दानीका रूपमा प्रस्तुत गर्नुपर्ने अवस्था आउन सक्छ।
यसका कारण बैंकको अपरेटिङ प्रोफिट अर्थात् सञ्चालन नाफाको आकार हालको प्रस्तुतीकरणभन्दा फरक देखिन सक्नेछ। तर यसले बैंकको वास्तविक आम्दानी वा खर्चमा परिवर्तन ल्याउनेभन्दा पनि वित्तीय विवरणमा त्यसलाई देखाउने तरिकामा परिवर्तन गर्नेछ।
बैंक तथा वित्तीय संस्थामा कर्मचारी बोनस र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको खर्च निर्धारणका विषयमा भने नेपाल राष्ट्र बैंकबाट आवश्यक निर्देशन आउनुपर्ने देखिएको छ।
लेखा प्रणालीमा पनि परिवर्तन आवश्यक
एनएफआरएस १८ कार्यान्वयनमा आएपछि कम्पनीहरूले आफ्नो चार्ट अफ अकाउन्ट्स, अकाउन्टिङ सिस्टम, ईआरपी, वित्तीय रिपोर्टिङ फम्र्याट तथा आन्तरिक रिपोर्टिङ प्रणालीमा समेत आवश्यक परिवर्तन गर्नुपर्ने हुन सक्छ।
त्यस्तै, विगतको तुलनात्मक तथ्याङ्कलाई नयाँ ढाँचाअनुसार प्रस्तुत गर्नुपर्ने भएकाले कार्यान्वयनको प्रारम्भिक चरणमा थप तयारी र लागत लाग्न सक्नेछ।
व्यवसायको प्रकृति फरक हुने भएकाले एनएफआरएस १८ को प्रभाव पनि कम्पनीअनुसार फरक हुन सक्नेछ। बैंक, बीमा कम्पनी, लगानीसम्बन्धी व्यवसाय तथा अन्य संस्थाले आफ्नो मुख्य व्यावसायिक गतिविधिअनुसार आम्दानी र खर्चको वर्गीकरण गर्नुपर्नेछ।
नयाँ व्यवस्था लागू भएपछि नाफा–नोक्सान विवरणको प्रस्तुतीकरण तथा आम्दानी–खर्चको वर्गीकरणमा परिवर्तन आउने भएकाले लेखा शिक्षा र पाठ्यक्रममा समेत त्यसको प्रभाव पर्न सक्नेछ।
विद्यालयदेखि विश्वविद्यालय तहसम्मका लेखासम्बन्धी पाठ्यक्रम, पाठ्यपुस्तक तथा अध्ययन सामग्रीमा नयाँ व्यवस्था समेट्नुपर्ने हुन सक्छ। साथै लेखा शिक्षक, विद्यार्थी, लेखा व्यवसायी तथा वित्तीय विवरण प्रयोगकर्तालाई नयाँ व्यवस्थाबारे जानकारी दिन अभिमुखीकरण र क्षमता विकास आवश्यक पर्ने देखिन्छ।
नेपाल लेखामान बोर्डले एनएफआरएस १८ को मस्यौदामाथि कम्पनी, लेखापरीक्षक, लगानीकर्ता, नियामक निकाय, पेशागत संस्था, शिक्षाविद् तथा वित्तीय विवरण प्रयोगकर्ताबाट सुझाव मागेको छ।
बोर्डका अनुसार प्राप्त सुझावलाई अध्ययन गरी आवश्यक विषय समेटेर मस्यौदालाई अन्तिम रूप दिइनेछ। सरोकारवालाले आगामी मंसिर ८ गतेसम्म बोर्डको सचिवालय वा सेक्रेटरियट एट एएसबी नेपाल डट जीओभी डट एनपी मा सुझाव पठाउन सक्नेछन्।


