काठमाडौं। भोटेकोसी त्रिशूली बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय अधिकारी कामको सिलसिलामा रसुवामा रहेका बेला बाढीमा परेर बेपत्ता भएका थिए।
अधिकारीको शव अहिलेसम्म फेला नपरेपछि परिवारले मंगलबार कुशको प्रतिमा बनाएर धार्मिक विधिअनुसार दाहसंस्कार गर्ने तयारी गरेको हो। शव भेटिने आशामा लामो समयसम्म खोजी तथा प्रतीक्षा गरे पनि अहिलेसम्म कुनै पत्तो नलागेपछि परम्पराअनुसार अन्तिम संस्कार गर्ने निर्णय गरिएको अधिकारीका मामा विदुर नेपालले जानकारी दिए।
नेपालका अनुसार परिवारजनले अधिकारीको शव भेटिएर अन्तिम संस्कार गर्न पाइने आशा लामो समयसम्म राखेका थिए। तर, निरन्तरको खोजीका बाबजुद शव फेला नपरेपछि हिन्दू संस्कारअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार तथा काजकिरिया गर्ने निर्णय गरिएको हो।
बेपत्ता व्यक्तिको शव लामो समयसम्म फेला नपरेको अवस्थामा धार्मिक तथा सामाजिक परम्पराअनुसार कुशको प्रतिमा बनाएर अन्तिम संस्कार गर्ने प्रचलन रहँदै आएको छ। यसअघि पनि बाढी तथा अन्य विपद्का घटनामा बेपत्ता भएका केही व्यक्तिका परिवारले यही विधिबाट दाहसंस्कार गरी काजकिरिया सम्पन्न गरिसकेका छन्।
अधिकारीको परिवारका लागि शवसमेत फेला नपरी अन्तिम संस्कार गर्नुपर्ने अवस्था अत्यन्त पीडादायी बनेको छ। मंगलबार गरिने संस्कारसँगै परिवारले धार्मिक विधिअनुसार उहाँको काजकिरिया अघि बढाउने तयारी गरेको छ।
पारिवारिक जानकारी अनुसार अटोमोबाइल्स कम्पनीमा कार्यरत अधिकारी केही दिनअघि मात्रै चीनबाट रसुवा नाका हुँदै नयाँ गाडी आएको र उक्त गाडी लिन जाने क्रममा रसुवा पुगेका थिए।
बाढीपछि अधिकारीसँग पटक–पटक सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन नसकेको परिवारले जनाएको छ। लामो समयसम्म सम्पर्कविहीन भएपछि परिवारले कुशलको प्रतिमा बनाएर दाहसंस्कार गर्ने र काजकिरिया गर्ने निर्णयमा पुगेको हो।
