काठमाडौँः साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार बढेर बन्द भएको नेप्से यस दिन भने घटेको हो।
सोमबार नेप्से परिसूचक १६.४७ अंकले घटेर २ हजार ६१३.३३ विन्दुमा झरेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत बिहीबार ५ अर्ब ४४ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार रुपैयाँबराबरको १ करोड ३१ लाख ७८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
यस दिन १० प्रतिशत केबिएल डिबेञ्चर २०९० को मूल्य सर्वाधिक १२.१७ प्रतिशतले बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको सेयरमूल्य भने यस दिन सर्वाधिक १०.५८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३८ करोड ८२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।


