काठमाडौँ: नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको एनटीटीभी सेवा अब सेट–टप बक्सबिना पनि प्रयोग गर्न सकिने व्यवस्था गरेको छ।
कम्पनीले बिहीबारदेखि एन्ड्रोइड टीभीका लागि भर्चुअल सेट–टप बक्स उपलब्ध गराएको हो। यससँगै एन्ड्रोइडमा आधारित स्मार्ट टीभी प्रयोगकर्ताले भौतिक सेट–टप बक्स नराखी एनटीटीभी सेवा प्रयोग गर्न सक्ने भएका छन्।
यसका लागि ग्राहकले आफ्नो एन्ड्रोइड स्मार्ट टीभीमा गुगल प्लेस्टोरबाट ‘स्मार्ट एनटीटीभी’ एप खोजेर इन्स्टल गर्नुपर्नेछ। कम्पनीले निकट भविष्यमा सबै प्रकारका स्मार्ट टीभीमा प्रयोग गर्न मिल्ने भर्चुअल सेट–टप बक्स सञ्चालनमा ल्याउने तयारीसमेत गरेको जनाएको छ।
नेपाल टेलिकमका अनुसार नयाँ सेवा थप ग्राहकमैत्री हुने गरी विकास गरिएको हो। नयाँ प्याकेज लिने ग्राहकले भर्चुअल सेट–टप बक्ससहितको प्याकेज लिएमा १ हजार रुपैयाँ छुट पाउने व्यवस्था गरिएको छ।
नेपाल टेलिकमले एनटी फाइबरमार्फत एउटै तारबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउँदै आएको छ। भर्चुअल सेट–टप बक्ससहित टेलिभिजन प्रयोग गर्नका लागि कम्पनीले विभिन्न प्याकेजसमेत उपलब्ध गराएको छ।
कम्पनीका अनुसार वार्षिक तथा दुई वर्षे प्याकेजमा मोबाइल डाटा सुविधासमेत उपलब्ध छ।
एनटीटीभी तथा भर्चुअल सेट–टप बक्ससम्बन्धी विस्तृत जानकारी नेपाल टेलिकमको वेबसाइट तथा ‘नेपाल टेलिकम’ एपमार्फत लिन सकिने कम्पनीले जनाएको छ।
