काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्। असार २ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका पौडेल १२ दिनको उपचारपछि डिस्चार्ज भएका हुन्।
‘आज दिउँसो डिस्चार्ज भई राष्ट्रपति निवास फर्कनुभएको छ। चिकित्सकहरूका अनुसार सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्था सामान्य छ,’ कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
त्रिवि शिक्षण अस्पताल तथा मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा उनको उपचार भएको थियो। उनको छातीमा पेसमेकर राखिएको छ।
धातुको सानो यन्त्र पेसमेकर मुटुको धड्कन पहिचान र निगरानीका लागि प्रयोग गरिन्छ। आफ्नै मुटुको धड्कन ठिक भएको अवस्थामा पेसमेकर चुप लागेर बस्दछ। ठिक नभएको अवस्थामा यसले संकेत गर्दछ। मुटुका बिरामीमा यो यन्त्र प्रयोग गरिन्छ।


