काठमाडौँः नेपाली सेयर बजारका संस्थागत लगानीकर्ताका रूपमा रहेका म्युचुअल फन्डहरूले एक महिनाको अवधिमा सूचीकृत सेयरमा रहेको लगानीको मूल्य एक अर्ब रुपैयाँभन्दा बढी घटाएका छन्। अर्कोतर्फ, बैंक मौज्दात बढेको तथ्यांकले फन्डहरूको सम्पत्ति संरचनामा परिवर्तन आएको देखाएको छ।
भदौ मसान्तसम्म सञ्चालनमा रहेका ६० वटा म्युचुअल फन्डको सूचीकृत सेयरमा कुल ६७ अर्ब १९ करोड ६६ लाख रुपैयाँ लगानी रहेको छ। साउन मसान्तमा यस्तो लगानी ६८ अर्ब २० करोड १५ लाख रुपैयाँ थियो। यसअनुसार एक महिनामा लगानीको मूल्य एक अर्ब ४९ लाख रुपैयाँ अर्थात् १.४७ प्रतिशतले घटेको हो।
यस अवधिमा म्युचुअल फन्डहरूको बैंक मौज्दात भने २.८७ प्रतिशतले बढेर १४ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। सेयर लगानीको मूल्य घट्नु र बैंक मौज्दात बढ्नुले फन्डहरूको पोर्टफोलियोमा परिवर्तन आएको देखाउँछ। तर, यसैलाई आधार बनाएर फन्डहरूले एक अर्ब रुपैयाँभन्दा बढीको सेयर बिक्री गरेको निष्कर्ष निकाल्न नसकिने जानकार बताउछन्। एक फण्ड म्यानेजर कम्पनीका प्रवन्धकले भने,‘सेयरको बजार मूल्यमा आएको गिरावटले पनि लगानीको कुल मूल्य घटाउन सक्छ।’
कुल लगानीको करिब १३ प्रतिशत एउटै फन्डमा
भदौ मसान्तसम्म सूचीकृत सेयरमा सबैभन्दा धेरै लगानी एनआईबीएल सहभागिता फन्डको रहेको छ। उक्त फन्डको सेयर लगानीको मूल्य आठ अर्ब ८१ करोड ७९ लाख रुपैयाँ छ। यो ६० वटा फन्डको कुल सूचीकृत सेयर लगानीको करिब १३.१२ प्रतिशत हो।
यसले म्युचुअल फन्डहरूबीच पनि सेयर लगानीको आकारमा ठूलो अन्तर रहेको देखाउँछ। ठूलो पोर्टफोलियो भएका फन्डको लगानी मूल्यमा हुने सामान्य उतारचढावले समेत समग्र तथ्यांकमा प्रभाव पार्न सक्छ।
सबै फन्डको सेयर लगानी मूल्य घटेको भने छैन। सानिमा इक्विटी फन्ड–२ को सूचीकृत सेयर लगानी मूल्य साउनको तुलनामा ३३९.१० प्रतिशतले बढेर भदौ मसान्तमा ४५ करोड ८८ लाख रुपैयाँ पुगेको छ।
यसको विपरीत, एनएमबी ५० को सूचीकृत सेयर लगानी मूल्य ४९.६९ प्रतिशतले घटेर १७ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ।
म्युचुअल फन्डहरूको औसत प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) साउनको १०.४८ रुपैयाँबाट घटेर भदौ मसान्तमा १०.२६ रुपैयाँ कायम भएको छ। यसअनुसार औसत न्याभ करिब २२ पैसाले घटेको हो।
भदौ मसान्तमा प्रभु स्मार्ट फन्डको न्याभ सबैभन्दा धेरै १३.०१ रुपैयाँ रहेको छ। हिमालयन ८०–२० को १२.५३ रुपैयाँ र प्रभु सेलेक्ट फन्डको १२ रुपैयाँ न्याभ रहेको छ।
अर्कोतर्फ, एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को न्याभ एक महिनामा १.१६ रुपैयाँले घटेर १०.५३ रुपैयाँमा झरेको छ। प्रभु सेलेक्ट फन्डको न्याभ १.०९ रुपैयाँ र कुमारी इक्विटी फन्डको १.०२ रुपैयाँले घटेको छ।
तर, प्रभु सिस्टेमेटिक इन्भेस्टमेन्ट स्किमको न्याभ ३१ पैसाले बढेर ११.१६ रुपैयाँ पुगेको छ भने सिद्धार्थ इक्विटी फन्ड–२ को न्याभ १४ पैसाले बढेर १०.०९ रुपैयाँ कायम भएको छ। यसले औसत न्याभ घटे पनि सबै योजनाको सम्पत्ति मूल्य समान रूपमा नघटेको देखाउँछ।
लगानीकर्ताले के बुझ्ने?
जानकारका अनुसार म्युचुअल फन्डको सेयर लगानी मूल्य, बैंक मौज्दात र न्याभ तीन फरक सूचक हुन्। सेयर लगानीको मूल्यले फन्डको सूचीकृत सेयर पोर्टफोलियोको बजार मूल्य देखाउँछ भने न्याभले फन्डको कुल सम्पत्तिबाट दायित्व घटाएपछि बाँकी रहने खुद सम्पत्तिलाई कायम इकाइ संख्याले भाग गर्दा प्राप्त मूल्य जनाउँछ।
त्यसैले न्याभ घटेको आधारमा मात्रै फन्डले सेयर बेच्यो वा लगानीकर्तालाई वास्तविक घाटा भयो भन्न मिल्दैन। त्यस्तै, न्याभ १० रुपैयाँभन्दा माथि हुँदैमा कुनै फन्ड राम्रो वा कम जोखिमयुक्त हुन्छ भन्ने पनि होइन।
फन्डको अवस्था मूल्यांकन गर्दा न्याभको मासिक परिवर्तनसँगै दीर्घकालीन प्रतिफल, लाभांश वितरण, व्यवस्थापन खर्च, पोर्टफोलियोको संरचना र बैंक मौज्दातको प्रवृत्ति हेर्नु आवश्यक हुने उनले बताए।




