काठमाडौँ- काठमाडौँको टुँडिखेलमा घोडेजात्रा मनाइएको छ। हरेक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा मनाउने गरिन्छ।
नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शनी गरेको छ। घोडेजात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरेलगायत पुगेका थिए।
किंवदन्तीअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशाको रुखमा गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो। पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे।
राक्षसको प्रेतात्मा जागा भई फेरि दु:ख दिने भय स्थानीयवासीमा रहिरह्यो। यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो। यसरी घोडा कुदाएर जात्रा गर्दा वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास छ। आजै राति गुरुमापालाई खानेकुरा पनि दिइन्छ।
टुँँडीखेलमा टाँगन र चार्जर घोडा दौड, शो जम्प, क्याभलरी ड्रिल राइड र डग शो, घोडचढी आर्चरी, महिला सवार सिक्सवार, म्युजिकल राइड, हङ्गेरियन पोष्टवारलगायतका विविध रोमाञ्चक कला प्रदर्शन गरिएको थियो।























