काठमाडौँ: नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरु भएको बडादशैंको अवसरमा आज देवी महागौरीको विशेष उपासना गरिएको हो।
घटस्थापना गरिएको पूजा कोठा तथा दशैंघरमा नवरात्रभर दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ। नवरात्रका अवसरमा देवी दुर्गाको भक्तिपूर्वक आराधना गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। यसै मान्यताका आधारमा सनातन धर्मावलम्बीले प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको विशेष अनुष्ठान गर्दछन्।
दुर्गा पक्षका नौ दिन शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नवदुर्गाका नौ फरक स्वरूपको पूजा गरिन्छ। यसरी नौ दिनसम्म पूजा गरिएको टीका र जमरा विजयादशमीका दिनदेखि प्रसादका रूपमा ग्रहण गरी कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट लगाउने चलन छ।
महाअष्टमीको अवसरमा काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, कालिकास्थान, शोभा भगवती, संकटा, नक्साल भगवती तथा उपत्यकाबाहिरका विभिन्न शक्तिपीठहरूमा बिहानैदेखि दर्शनार्थीको ठूलो घुइँचो लागेको छ।


