विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने तयारी गरेका छन्। बिहीबार बस्ने प्रदेशसभा बैठकबाट उनले विश्वासको मत लिने तयारी गरेका हुन्।
आफूलाई विश्वासको मत दिन आग्रह गर्दै कार्कीले विपक्षी दलहरूलाई पत्र पठाएका छन्। कार्कीले नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रतिपक्षी दललाई लिखित पत्र पठाएका हुन्।
माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कार्कीले विश्वासको मत माग्ने कार्यसूची छ। दिउँसो १ बजेका लागि तालिका तय भएपनि अझसम्म बैठक सुरु हुन सकेको छैन।
नेकपा माओवादी केन्द्रले भने कार्कीलाई विश्वासको मत नदिने निर्णय लिइसकेको छ। बिहीबार बिहानको संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको हो।
माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीले विश्वासको मत नपाउने र उनी पदमुक्त हुने दाबी गरे। ‘मुख्यमन्त्रीले विश्वासको मत नपाएपछि प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गर्नुहुन्छ। त्यसबेला माओवादीले दाबी गर्छ,’ उनले भने। नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेका छन्।
९३ सदस्यीय कोशी प्रदेशसभामा विश्वासको मत पाउन ४७ मत चाहिन्छ। सरकारमा रहेका एमालेसँग ४० र राप्रपासँग ६ सिट छन्। उनलाई कम्तीमा एक मत थप आवश्यक छ।
विपक्षी गठबन्धनमा सभामुखसहित ४७ सांसद छन्। मत बराबर नभएको अवस्थासम्म सभामुखलाई मत दिने अधिकार छैन। मुख्यमन्त्री कार्कीका पक्ष र विपक्षमा ४६-४६ मत आएको अवस्थामा मात्र सभामुखले मतदान गर्नेछन्। यसपछि मात्र विश्वासको मतसम्बन्धी प्रस्तावको टुंगो लाग्नेछ।
विश्वासको मत लिनुअघि बजेट अध्यादेश टेबल गर्ने कार्यसूची प्रदेशसभाको छ। प्रदेश सरकारको अध्यादेशबाट बजेट ल्याएको थियो।


