२०८३ कार्तिक १२ गते बुधबार

विदेशी खेलाडी ल्याउँदा भिसा, कर र भुक्तानी जटिलताले फ्रेन्चाइजलाई चुनौती

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १०
ishwore_gc

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लुम्बिनी लायन्सले अघिल्लो सिजनका अनुभवबाट सिक्दै अझ सन्तुलित र प्रतिस्पर्धी टोलीका रूपमा प्रस्तुत हुने लक्ष्य लिएको छ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले नेपाली खेलाडीको क्षमता, विदेशी खेलाडीको अनुभव र समर्थकको विश्वासलाई आधार बनाएर यस वर्ष उत्कृष्ट प्रदर्शन गर्ने तयारीमा रहेको बताएका छन्।

अध्यक्ष जिसीले अघिल्लो सिजनको फाइनलसम्मको यात्रालाई महत्वपूर्ण अनुभवका रूपमा लिँदै यसपटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिने बताए। उनका अनुसार टोलीले अघिल्लो सिजनका केही प्रमुख खेलाडीलाई निरन्तरता दिँदै नयाँ खेलाडीसमेत समावेश गरेको छ।

‘हामीले अघिल्लो सिजनका अनुभवबाट सिकेर यस वर्ष अझ राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेका छौँ। च्याम्पियन टोलीका केही खेलाडीलाई निरन्तरता दिँदै नयाँ सदस्य पनि थपेका छौँ,’ जिसीले भने, ‘हामी यसपटक अझ राम्रो खेल्दै आफूलाई पुनः प्रमाणित गर्न चाहन्छौँ।’

डार्सी सर्ट, निरोशन डिकवेला र रुबेन ट्रम्पलम्यानलाई निरन्तरता

लुम्बिनी लायन्सले अघिल्लो सिजन प्रभावशाली प्रदर्शन गरेका विदेशी खेलाडीलाई टोलीमा निरन्तरता दिनुलाई महत्वपूर्ण निर्णयका रूपमा लिएको छ। अध्यक्ष जिसीले अस्ट्रेलियाका डार्सी सर्ट, श्रीलंकाका निरोशन डिकवेला र एसोसिएट क्रिकेटका चर्चित खेलाडी रुबेन ट्रम्पलम्यानको योगदानलाई विशेष रूपमा उल्लेख गरे।

उनका अनुसार डार्सी सर्टले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्। अघिल्लो एनपीएलमा पनि उनले उत्कृष्ट ब्याटिङ गरेका कारण उनलाई टोलीबाट बाहिर राख्ने अवस्था नरहेको जिसीले बताए।

त्यस्तै, सुरुवाती चरणमा अपेक्षाअनुसार प्रदर्शन हुन नसके पनि निरोशन डिकवेलाको आगमनपछि टोलीको मनोबल र खेलको लयमा सकारात्मक परिवर्तन आएको उनको भनाइ छ। ट्रम्पलम्यानलाई पनि अघिल्लो सिजनको उत्कृष्ट खेलाडीका रूपमा सम्मान गर्दै टोलीमा निरन्तरता दिइएको उनले बताए।

‘लुम्बिनी लायन्स एउटा परिवार हो। खेलाडी, व्यवस्थापन र हामीसँग जोडिएका समर्थक सबै यही परिवारका सदस्य हौँ। खेलाडीलाई विश्वास गर्छौँ र उनीहरूको योगदानलाई सम्मान गर्छौँ,’ जिसीले भने।

अन्तर्राष्ट्रिय स्तरमा अझ चर्चित खेलाडी समावेश भएको हेर्न चाहने समर्थकको अपेक्षालाई पनि आफूहरूले सम्मान गर्ने उनले बताए। यद्यपि, खेलाडीको व्यस्तता, उपलब्धता, खेल तालिका र टोलीको आवश्यकताअनुसार विदेशी खेलाडी छनोट गर्नुपर्ने भएकाले सबै अवस्थामा चाहेजस्ता खेलाडी ल्याउन सम्भव नहुने उनको भनाइ छ।

कसैलाई कमजोर ठानेका छैनौँ

अध्यक्ष जिसीले यसपटक एनपीएलका आठवटै टोली प्रतिस्पर्धात्मक अवस्थामा रहेको बताए। कुनै एक टोलीलाई विशेष रूपमा कमजोर वा बलियो ठानेर रणनीति बनाउनेभन्दा सबै प्रतिस्पर्धीलाई समान सम्मानका साथ हेर्नुपर्ने उनको धारणा छ।

उनका अनुसार पहिलो संस्करणमा टोली निर्माणका लागि पर्याप्त समय नपाउँदा फ्रेन्चाइजहरूले केही चुनौती सामना गरेका थिए। दोस्रो संस्करणमा अनुभव र तयारीमा सुधार आएको थियो भने तेस्रो संस्करणमा टोलीहरू अझ सन्तुलित बनेका छन्।

‘म सबै टोलीलाई समान रूपमा हेर्न चाहन्छु। यसपटक आठवटै टोली राम्रा छन् र निकै प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा गरेको छु,’ उनले भने।

टोलीको रणनीति र विपक्षीको विश्लेषण गर्ने जिम्मेवारी प्राविधिक टोलीले सम्हालिरहेको उल्लेख गर्दै जिसीले आफूले सबै प्रतिस्पर्धीलाई सम्मान गर्ने बताए।

डीआरएसले खेलाडी र समर्थकको विश्वास बढाउँछ

एनपीएलमा प्रविधिको प्रयोग बढ्नु सकारात्मक कदम भएको अध्यक्ष जिसीको भनाइ छ। अघिल्लो सिजन केही निर्णयमा मानवीय त्रुटि हुनसक्ने विषय उठेको स्मरण गर्दै उनले निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) को प्रयोगले खेललाई अझ विश्वसनीय बनाउन मद्दत गर्ने बताए।

उनका अनुसार प्रविधिले खेलाडीको आत्मविश्वास बढाउनुका साथै समर्थकमा पनि खेलप्रतिको उत्सुकता र विश्वास बढाउँछ।

‘प्रविधिलाई हामीले अपनाउनैपर्छ। यसको अधिकतम उपयोग गर्न सकियो भने राम्रो हुन्छ। सानो मानवीय त्रुटिले ठूलो असर पार्न सक्ने अवस्थामा डीआरएसले खेलाडी र समर्थक दुवैको विश्वास बढाउँछ,’ जिसीले भने।

प्रविधि प्रयोग गर्दा खर्च बढ्ने भए पनि त्यसले प्रतियोगिताको गुणस्तर र विश्वसनीयता सुधार गर्छ भने खर्चलाई समस्याका रूपमा लिन नहुने उनको धारणा छ।

एनपीएल आर्थिक लाभभन्दा पनि नेपाली क्रिकेटमा योगदान गर्ने अवसर

लुम्बिनी लायन्सले फ्रेन्चाइज क्रिकेटमा लगानी गर्दा तत्काल नाफाभन्दा नेपाली क्रिकेटको विकासमा योगदान गर्ने उद्देश्यलाई प्राथमिकता दिएको अध्यक्ष जिसीले बताए।

उनका अनुसार नेपाल क्रिकेट संघ (क्यान)ले फ्रेन्चाइजहरूलाई सुरुवाती पाँच वर्ष आर्थिक रूपमा सबल बन्ने आधार तयार गर्नुपर्ने र त्यसपछि मात्र लगानीको प्रतिफल अपेक्षा गर्न सकिने सोचका साथ अघि बढ्न सुझाव दिएको थियो।

यस वर्ष रसुवामा आएको बाढी तथा विपद्का कारण आर्थिक योजनामा असर परेको उल्लेख गर्दै उनले अन्यथा टोली ‘ब्रेकइभन’मा पुग्ने सम्भावना रहेको बताए। यद्यपि, फ्रेन्चाइजको मुख्य उद्देश्य नेपाली क्रिकेटको विकास यात्रामा योगदान गर्नु रहेको उनको भनाइ छ।

उनले एनपीएलले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउनुका साथै युवामा आफ्नै देशमा बसेर पनि सम्भावना खोज्न सकिन्छ भन्ने आत्मविश्वास जगाएको बताए। क्रिकेट, पर्यटन र खेलकुदको विकाससँगै स्वदेशमै व्यावसायिक अवसर सिर्जना गर्न एनपीएलले प्रेरणा दिएको उनको भनाइ छ।

स्थानीय खेलाडीको विकासमा ‘रेड पल्टन च्याम्पियनसिप’

लुम्बिनी लायन्सले स्थानीय प्रतिभा पहिचान र विकासलाई पनि प्राथमिकता दिएको छ। अध्यक्ष जिसीका अनुसार फ्रेन्चाइजले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाको प्रतिनिधित्व हुनेगरी ‘रेड पल्टन च्याम्पियनसिप’ आयोजना गरेको थियो। प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी प्रतिभा खोजी प्रक्रियामार्फत टोलीमा समावेश गरिएको उनले बताए।

यसका अतिरिक्त क्यानको व्यवस्थाअनुसार नेपाली खेलाडीलाई थप अवसर दिने उद्देश्यले खेलाडी छनोट गरिएको उनको भनाइ छ।

उनका अनुसार यस्ता प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो क्षमता देखाउने अवसर प्रदान गर्छन्। क्रिकेट खेलेर व्यावसायिक जीवन बनाउन र देशको प्रतिनिधित्व गर्न सकिन्छ भन्ने विश्वास युवामा विकास हुनु सकारात्मक उपलब्धि भएको उनले बताए।

लुम्बिनीको पहिचानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य

लुम्बिनी लायन्सले क्रिकेटलाई खेलमा सीमित नराखी लुम्बिनी प्रदेशको संस्कृति, इतिहास र पर्यटन प्रवद्र्धनको माध्यमका रूपमा समेत उपयोग गर्न खोजेको अध्यक्ष जिसीले बताए।

उनका अनुसार टोलीको नाम, लोगो र जर्सीमा लुम्बिनीको पहिचान झल्काउने प्रतीक तथा सांस्कृतिक पक्षलाई समेटिएको छ। पहिलो र दोस्रो सिजनका जर्सीसमेत लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा सार्वजनिक गरिएको उनले स्मरण गरे।

टोलीको लोगोमा मायादेवी मन्दिरको प्रतीकात्मक स्वरूप समेटिएको उल्लेख गर्दै उनले रातो रङमार्फत राष्ट्रिय गौरव तथा नेपाली पहिचानलाई प्रतिनिधित्व गरिएको बताए। जर्सीमा पाल्पाली ढाकालगायत स्थानीय संस्कृति झल्काउने पक्षलाई पनि प्राथमिकता दिइएको उनको भनाइ छ।

लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थललाई एनपीएलमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयास भइरहेको उनले बताए। गौतम बुद्धको जन्मस्थल लुम्बिनी, स्वर्गद्वारी, सुपा देउराली, बागेश्वरी मन्दिर, रानीमहललगायत क्षेत्रको पहिचान विस्तार गर्न खेलकुदले सहयोग पुर्याउन सक्ने उनको विश्वास छ।

‘हामी लुम्बिनीका प्रत्येक ठाउँको पहिचानलाई आत्मसात् गरेर अघि बढिरहेका छौँ। लुम्बिनीलाई अझ अगाडि लैजानु र यहाँका सम्पदा तथा संस्कृतिलाई चिनाउनु हाम्रो उद्देश्य हो,’ उनले भने।

एनपीएललाई अझ व्यावसायिक र जनस्तरसम्म जोड्न घरेलु मैदानमा खेल सञ्चालन गर्ने व्यवस्था आवश्यक रहेको अध्यक्ष जिसीले बताए। सरकारले प्रत्येक प्रदेशमा स्टेडियम निर्माण गर्ने विषयलाई बजेटमार्फत अघि बढाउनु सकारात्मक कदम भएको उनको भनाइ छ।

होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्न फ्रेन्चाइजका गृहक्षेत्रमा आवश्यक खेल पूर्वाधार उपलब्ध हुनुपर्ने उनको भनाई छ। त्यसका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न सक्ने उनले बताए। ‘यदि सरकारसँग पर्याप्त बजेट छैन भने सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा अघि बढ्न सकिन्छ। हामी त्यसका लागि सहकार्य गर्न तयार छौँ,’ जिसीले भने।

लुम्बिनी प्रदेशमै लुम्बिनी लायन्सका खेल सञ्चालन गर्न पाए त्यो प्रदेशका लागि गौरवको विषय हुने उनले बताए। स्थानीय मैदानमा खेल हुँदा समर्थकको सहभागिता बढ्ने, पर्यटन प्रवद्र्धन हुने र स्थानीय अर्थतन्त्र चलायमान बन्ने उनको अपेक्षा छ।

विदेशी खेलाडी भित्र्याउन कानुनी प्रक्रिया सहज बनाउनुपर्ने

अध्यक्ष जिसीले विदेशी खेलाडीलाई नेपाल ल्याउँदा भिसा, कर र भुक्तानी प्रक्रियामा देखिने जटिलताले फ्रेन्चाइजलाई चुनौती थपेको बताए।

उनका अनुसार विदेशी खेलाडीले २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था, व्यावसायिक भिसाको अभाव र पर्यटक भिसामा प्रवेश गरेपछि भिसा परिवर्तन गर्नुपर्ने प्रक्रियाले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता व्यवस्थापन गर्न कठिनाइ उत्पन्न गरेको छ।

विशेषगरी चर्चित विदेशी खेलाडीले अग्रिम भुक्तानी माग्ने अवस्थामा उनीहरू नेपाल आइपुगेर प्रवेश प्रक्रिया पूरा गरेपछि मात्र भिसा परिवर्तन र आवश्यक स्वीकृतिमार्फत रकम पठाउन सकिने प्रक्रियाले समस्या सिर्जना गर्ने उनले बताए।

यस्ता प्रशासनिक जटिलता समाधान गर्न सके खेलकुद क्षेत्र मात्र नभई अन्य उद्योगमा पनि विदेशी विज्ञ तथा विशेषज्ञको सहभागिता सहज हुने जिसीको धारणा छ।

‘विदेशी खेलाडी तथा विशेषज्ञलाई सहज रूपमा ल्याउन सकियो भने खेलकुदसहित अन्य क्षेत्रले पनि लाभ लिन सक्छन्। यसले नेपालमा कुन क्षेत्रमा विशेषज्ञताको आवश्यकता छ भन्ने पहिचान गर्नसमेत सहयोग पुर्याउन सक्छ,’ उनले भने।

प्रकाशित: २०८३ कार्तिक १० गते सोमबार ०४:२७
प्रतिक्रिया

थप समाचार

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ मार्फत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गर्दैछ। एनपीएलका आठ टोलीमध्ये...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना