काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा व्यापार घाटा भने ५ खर्ब रुपैयाँभन्दा माथि पुगेको छ।
भन्सार विभागका अनुसार साउनदेखि असोजसम्म नेपालले १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७.०३ प्रतिशत बढी हो। गत वर्ष पहिलो तीन महिनामा ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो।
निर्यातमा आएको तीव्र वृद्धिले गत आर्थिक वर्ष कायम भएको वार्षिक निर्यात रेकर्डसमेत चालु आर्थिक वर्षमा उछिन्ने सम्भावना देखिएको छ। गत आर्थिक वर्ष नेपालले ३ खर्ब १५ अर्ब रुपैयाँभन्दा बढीको वस्तु निर्यात गरेको थियो।
तर, निर्यात बढेको तुलनामा आयात अझै धेरै भएकाले व्यापार असन्तुलन कायमै छ। पहिलो त्रैमासमा ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३८.१८ प्रतिशतले बढेको हो।
यससँगै तीन महिनामै नेपालको कुल वैदेशिक व्यापार ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो व्यापार ५ खर्ब ४० अर्ब रुपैयाँमा सीमित थियो।
निर्यातको हिस्सा बढे पनि घाटा ५ खर्ब नाघ्यो
आयातको तुलनामा निर्यातको हिस्सा केही सुधार भएको छ। कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १५.०२ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ८४.९८ प्रतिशत छ।
तर, आयात र निर्यातबीचको ठूलो अन्तरका कारण पहिलो तीन महिनामै व्यापार घाटा ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४.७१ प्रतिशत बढी हो।
अर्थात् तीन महिनामा नेपालले विदेशबाट जति वस्तु किनेको छ, त्यसको तुलनामा निकै कम मात्रामा वस्तु बिक्री गर्न सकेको छ।
तेलले धानेको निर्यात, इन्धनमा ठूलो रकम बाहिरियो
निर्यातको वृद्धिमा वनस्पति तेलको प्रमुख भूमिका देखिएको छ। पहिलो तीन महिनामा ५९ अर्ब ३२ करोड रुपैयाँ बराबरको वनस्पति तेल निर्यात भएको छ। त्यसपछि धागो, चिया–कफी तथा मसला र कार्पेटजन्य वस्तु प्रमुख निर्यात वस्तु बनेका छन्।
यता आयाततर्फ भने इन्धन, कच्चा वनस्पति तेल, सवारीसाधन, मेसिनरी तथा विद्युतीय उपकरणमा ठूलो रकम बाहिरिएको छ। तीन महिनामा मात्रै इन्धन आयातमा १ खर्ब १९ अर्ब रुपैयाँ खर्च भएको छ।
वस्तुगत रूपमा कच्चा सोयाबिन तेल ५२ अर्ब ६० करोड, डिजेल ४७ अर्ब ३१ करोड, पेट्रोल २४ अर्ब ६२ करोड र एलपी ग्यास २३ अर्ब १८ करोड रुपैयाँ बराबर आयात भएको छ।
भारतसँग सबैभन्दा ठूलो व्यापार
नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारत नै बनेको छ। पहिलो तीन महिनामा भारतबाट ३ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात हुँदा नेपालबाट भारततर्फ ९५ अर्ब ५९ करोड रुपैयाँ बराबरको निर्यात भएको छ।
यससँगै भारतसँग मात्रै नेपालको व्यापार घाटा २ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ।
चीन दोस्रो ठूलो व्यापार साझेदारका रूपमा रहेको छ। चीनबाट १ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भए पनि नेपालबाट चीनतर्फको निर्यात भने ६७ करोड रुपैयाँमा सीमित छ।
अर्जेन्टिना पनि नेपालको प्रमुख व्यापार साझेदार बनेको छ। पहिलो तीन महिनामा अर्जेन्टिनाबाट ३५ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। विशेषगरी वनस्पति तेलको कच्चापदार्थ आयात गरी प्रशोधनपछि भारततर्फ निर्यात हुने गरेको देखिन्छ।


